सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले खेलकुद नबुझेकाहरू खेलकुद मन्त्री बनेको भन्दै टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमा मन्त्री गुरूङले लोकरिझ्याँइको राजनीति गलत भएको समेत बताए।
उनले भने, ‘हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण के हो भने ती क्षेत्रले सहि पात्र नै पाएका छैनन्। खेलकुदको ख नबुझ्नेहरू जहिले पनि खेलकुद मन्त्री बनिरहेको देख्छु। बन नै नबुझेको मान्छेहरू बनमन्त्री भइरहेको हुन्छ। म पनि त्यहिभित्र पर्छु जस्तो लाग्छ। मैले यो सञ्चारको धेरै कुरा नै बुझेको छैन।’
बुधबार विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली समाज ढोंगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यहिँ मात्रै बोल्ने क्रमको विकास भएको बताए। उनले कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने तथा मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ भन्ने जस्ता लोकरिझायाँइका अभिव्यक्ति दिनु नहुने बताए।
उनले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवम् नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको बताए।
सहि पात्र नपाउँदा देश विकास हुन नसकेको मन्त्री गुरूङको भनाइ छ।
‘हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन। तपाईंहरूले जिताइदिएपछि पुगिहाल्यो। मन्त्रालय चलाउन यति क्वालिफिकेशन, अनुभव, योग्यता चाहिन्छ भन्ने कुरा केही पनि छैन। चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो।'