कर्णाली प्रदेशमा मङ्सिर २–९ गतेसम्म हुने निर्धारण गरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तत: तोकिएको मितिमा हुन सकेन।
दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो। उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। रंगशाला १० हजार दर्शक बस्ने क्षमताको छ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुदलाई प्राथमिकता नदिँदा प्रतियोगिता समयमै नभएको हो। मन्त्रीले प्रतियोगिता फागुनको अर्को मितिमा प्रतियोगिता बताउँदै आएका छन्।
मन्त्रीले दुई महिनाअघि सुर्खेत पुगेर रंगशाला निर्माणको अवस्थालाई अवलोकन निरीक्षण गरी मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको भेट गर्दै प्रदेश सरकारको १५ दिनपछिको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निर्क्यौल निकालिने भनेर फर्किएका थिए। तर त्यसपछि मन्त्रीले राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने खालका अभिव्यक्त दिएका थिए।
प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत दशवटै जिल्लामा संरचना निर्माण भएका छन्। वीरेन्द्रनगरमा मुख्य रंगशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन्। पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद् गरेको थियो।
दशौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इन्डोर’ हल छन्। ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन्।
हुम्लामा हकी मैदान छ। मुगुमा कबड्डीको संरचना छ। जुम्ला र दैलेखमा इन्डोर हल, कालिकोटमा कभर्डहल छ। रुकुमपश्चिममा पनि हल छ। सल्यानमा टेबलटेनिसको हल छ। जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ। जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ। सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आम कर्णालीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने ठाउँ हुने जनाइएको छ।