आइसिसी यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गरेको छ।
आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनको जित हासिल गरेको हो।
नेपालले थाइल्यान्डलाई १ सय ४० रनको लक्ष्य दिएको थियो। तर थाइल्यान्डले १६ ओभरमा ३३ रन जोड्दै अल आउट भयो।
नेपालका लागि कुशुम गोदारले ३, रचना चौधरी र रिया शर्माले २-२ विकेट लिएका थिए भने कप्तान पूजा महतोले १ विकेट लिइन्।
नेपालले उत्कृष्ट बलिङ गरेकै कारण थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। यस्तै थाइल्यान्ड का ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन्।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो।
गत बुधबारदेखि सुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेल पनि थाइल्यान्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो।
शनिबार खेलेको तेस्रो खेलमा भने नेपाल युएईसँग पराजित भएको थियो। उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन्।
प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ। यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।