न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन्। अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन्। उनी पहिलो पटकको सहभागितामा नै च्याम्पियन बनेका छन्।
विदेशी खेलाडीको सहभागिता यसअघि नै पक्का भइसकेका कारण आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले पूर्व निर्धारित समय अनुसार नै म्याराथन सन्चालन गरिएको थियो।
पुरुष म्याराथनमा नेपालका नरेन्द्र रावल दोस्रो र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी तेस्रो भएका छन्। नरेन्द्रले २ घन्टा २३ मिनेट ०५ सेकेन्ड र किरणले २ घन्टा ३१ मिनेट ४४ सेकेन्डको समय निकालेका थिए।
हाफ म्याराथनको महिलामा एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र राउत विजयी भएका छन्।
पुष्पाले १ घन्टा २८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै हाफ म्याराथनको उपाधि जितेकी हुन्। अन्ना स्टेफन दोस्रो र चारु अर्याल तेस्रो भइन्। अन्नाले १ घन्टा ३७ मिनेट १३ सेकेन्ड र चारुले २ घन्टा ४३ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन्।
नरेन्द्रले १ घन्टा १२ मिनेट ०४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन्। राजेन्द्र तामाङ (१ घन्टा १४ मिनेट ०२ सेकेन्ड) दोस्रो र विज्ञान गुरुङ (१ घन्टा १६ मिनेट २६ सेकेन्ड) तेस्रो भएका हुन्।
५ किलोमिटर खुला पुरुषमा नेपाल पुलिस क्लबका नागेश्वर ऐयर विजयी भए। उनले १८ मिनेट १३.१ सेकेन्डमा दौड पूरा गरे। ५ किलोमिटर पुरुष मास्टर्समा राजु भण्डारी २३ मिनेट ५३.६१ सेकेन्डमा दौड पूरा गर्दै विजयी भए।
५ किलोमिटर स्कुल गल्र्समा आइश्मा आचार्य र ब्वाइजमा सन्तोष कार्की विजयी भए। आइश्माले २५ मिनेट १५.४ र सन्तोषले १४ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए।
म्याराथन मास्टर्समा निकोले लाख्तिकोभ विजयी भए। उनले ३ घन्टा १३ मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेका हुन्।