नेपाल प्रहरी क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ को उपाधि शनिबार जितेको छ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले र आयोजक स्ट्याग चयाम्पियन्स टेबलटेनिस एकेडेमीलाई समग्रमा ८–४ ले पराजित गर्दै उपाधि उचाल्यो।
समान २–२ पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी ५ स्पर्धा खेल्नु पर्नेमा प्रहरीले ४ स्पर्धामै जितका लागि आवश्यक ८ अंक बटुल्न सफल भयो । प्रहरी साविक उप विजेता हो भने गत संस्करणमा स्ट्याग तेश्रो भएको थियो । डिफेन्डिङ च्याम्पियन एभीएम टेबलटेनिस क्लब यसपटक सहभागी भएन ।
पहिलो पुरुष सिंगल्समा स्ट्यागका हमर साङगाले प्रहरीका वंश सिंघललाई ११–९, ५–११ र ११–९ को सेटमा पराजित गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । महिला सिंगल्समा प्रहरीकी लक्षिता नारङले स्ट्यागकी त्रिशा गोगोइलाई ११–६, ५–११ र ११–६ ले हराउदै खेललाई ३–३ को बराबरीमा अवस्थामा पुर्याइन् ।
मिक्स डबल्समा प्रहरीकी लक्षिता र संयोग कपालीको जोडीले स्ट्यागका त्रिशा र गनञ्जय दाहालको जोडीलाई १०–११, ११–९ र ११–१ ले पाखा लगाएपछि प्रहरी ५–४ ले अगाडि रह्यो।
अर्को पुरुष सिंगल्समा प्रहरीका संयोगको प्रदर्शननै निर्णायक बन्यो । संयोगले स्ट्यागका गनञ्जयलाई ३–० को सोझो सेटमा पन्छ्यादै जितका लागि आवश्यक ८ अंक बटुले । संयोजक ११–७, ११–४ र ११–९ ले विजयी भए । त्यसपछि प्रहरीकी नविता श्रेष्ठ र स्ट्यागकी सुस्मिता खड्काबीच तय भएको महिला सिंगल्स खेलाउनु परेन । उपाधिसंगै प्रहरीले २ लाख तथा स्ट्यागले १ लाख नगद पुरस्कार हात पारे।
नेपाल एपीएफ क्लब र नवप्रवेशी टोली यल टेबलटेनिस तेश्रो भए। दुवैले समान ५०–५० हजार नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोली मध्ये एपीएफमा मात्र विदेश खेलाडी थिएनन्। बाँकी ३ टोलीले समान २–२ विदेशी खेलाडी अनुबन्ध गरेका थिए। उनीहरुले समान १–१ पुरुष÷महिला भारतीय खेलाडीलाई टोलीमा समावेश गरेका थिए।
विजेतालाई सह–प्रायोजक समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा शीर्ष तीन स्थान रहेका टिमसहित ज्ञानभैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी र रेड टाइल्स गरी ७ टिम सहभागी थिए ।