पूर्वराष्ट्रिय च्याम्पियन पुन्यमान कमाचार्यले प्रथम एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ मेमोरियल भेट्रान चेस च्याम्पियनसिपको उपाधि जितेका छन्।
अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताको ७ चरणको खेलमा उनले ५.५ अंक जोडे। समान अंक भएका बद्रीलाल नेपाली दोस्रो, गणेशमान दुवाल तेस्रो र नविन तण्डुकार टाइब्रेकको अधारमा दोस्रोदेखि चौथो भए।
५ अंक भएका पूर्णराज खड्का पाँचौ, विलमलाल श्रेष्ठ छैटौ, राजेन्द्र बज्राचार्य सातौ, जनार्दन श्रेष्ठ आठौ, भिम दत्ता पाडे नवौ तथा अबिरल राई दशौ भए।
उपाधि विजेता कमाचार्यले ३० हजार रुपैयाँ तथा उपविजेता नेपालीले २० हजार तथा तेस्रो हुने दुवालले १५ हजार रुपैयाँ पुरस्कार पाए। चौथो हुने खेलाडीले १० हजार तथा पाँचौ हुने खेलाडीले ७ हजार रुपैयाँ पुरस्कार पाए। छैटौ देखि १० औ स्थान हात पार्ने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाए।
विजेता खेलाडीहरुलाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पुरस्कार वितरण गरे।
प्रतियोगिताको खेल सञ्चालन मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजुको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको हो।
स्विस लिग प्रणालीमा २ दिन सञ्चालित प्रतियोगितामा ४२ जनाको सहभागिता थियो। दिवंगत श्रेष्ठ एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष हुन्। उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो। नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन्।
नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो। सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियन समेत हुन्। नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए।