एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा भएको छ।
सहभागी राष्ट्रमा पुरुष तर्फ १४ र महिला तर्फ ८ टोली रहने छन्। प्रतियोगिताका लागि ४ सय ५० भन्दा धेरै खेलाडी र अफिसियल नेपाल आउने भएका छन्।
प्रतियोगितामा नेपाल सहित फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ, श्रीलंका, गुआम, इन्डोनेसिया र इरान रहेका छन्।
पुरूषतर्फ फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, नेपाल, साउदी अरबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ र श्रीलंकाको सहभागिता रहने छ। महिलातर्फ नेपाल, फिलिपिन्स, भारत, गुआम, श्रीलंका, इरान, उज्बेकिस्तान र इन्डोनेसिया बिच प्रतिस्पर्धा हुनेछ।
नेपालमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीलाई इमिरेट्सले मुख्य प्रायोजन गरेको छ। एसियाली रग्बीको यस वर्षको सबैभन्दा ठूलो यस प्रतियोगितासँग इमिरेट्सले मुख्य प्रायोजकमा सम्झौता गरेको हो। नेपालमा पहिलो पटक सिनियरतर्फ रग्बीको राष्ट्रिय टोलीको प्रतिस्पर्धा हुन लागेको हो।
प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने छ। यसअघि सन् २०२२ मा अन्डर १८ र सन् २०२३ मा अन्डर २० रग्बी दशरथ रंगशालामा नै आयोजना गरिएको थियो।