एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक रजत पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताएकी छिन्।
ऐतिहासिक रजत पदकसहित मंगलबार स्वदेश फर्किएकी एरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा चोटका कारण फाइनलमा समस्या भएको बताइन्।
एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भएपनि विपक्षी धेरै राम्रो रहेको बताइन्। फाइनलमा ब्यहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। आगामी दिनमा यो भन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाइन्।
मंगलबार त्रिभूवन विमानस्थलमा पदक विजेता एरिका, प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीललाई स्वागत गरेका थिए।
नेपाल कराते महासंघ, नेपाल पुलिस क्लब र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित थिए। सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरेका थिए।
कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताए। प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उनले अझै धैरे सफलता दिलाउन सक्ने विश्वास व्यक्त गरे। उनले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासंघको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गरै।
सन् २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे। एरिकासँगै अन्य खेलाडीले सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राखेपले सहयोग गर्ने बताएका छन्।
एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औं सिनियर एसियन कराते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जितेकी थिइन्। नेपालका कुनैपनि खेलाडीले यस अघि एसियन सिनियर कराते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन। यद्यपी, उनी पहिलो स्वर्ण जित्न भने चुकिन्। यसअघि एरिका चीनकै हाङझाउमै एशियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुकेकी थिइन्।
-न्युज एजेन्सी नेपाल