धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणअघि ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ। प्रि–इभेन्टका रुपमा नेपालगञ्ज १० किमी रात्रि दौड संविधान दिवसमा असोज ३ गते राति आयोजना गरेर ‘दशौंमा दश इभेन्ट’ सुरु हुनेछ।
असोज ५ गते शनिबारदेखि हरेक शनिबार बर्षभरि सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ। पहिलो चरणमा नेपालगञ्जको वाटरपार्क, कोहलपुरको दश विगाहा मैदान र खजुराको शुक्र स्टेडियमलाई चयन गरिएको छ। यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ।
यसमा हरेक नागरिकलाई प्रोत्साहन गर्न १० हप्ता, २५ हप्ता, ५० हप्ता र एक सय हप्तामा पुरस्कृत गरिनेछ।
निरन्तर सहभागी भइ एक सय हप्ता पुरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय दौड कार्यक्रममा सहभागी गराइनेछ। बाँके जिल्ला एथ्लेटिक्स संघले साप्ताहिक दौडमा साझेदारी गर्नेछ।
कोहलपुरमा बाँके जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष एवं निर्णायक राजेन्द्र शाही, प्रशिक्षक हृदयकृष्ण मास्के र मोहन ओलीलाई जिम्मेवारी दिइएको छ। नेपालगञ्जमा चाहना शाह र गगन थापाले संयोजन गर्नेछन् भने खजुरामा डिबी तामाङ, सुमन बस्नेत र चन्द्रबहादुर रानाले साप्ताहिक रनको संयोजन गर्नेछन्।
हरेक शनिबार हुने साप्ताहिक रन कार्यक्रममा बेलाबेलामा उत्प्रेरक व्यक्तित्व(सेलिब्रिटी)लाई समेत उपस्थित गराइनेछ।
दशौं धारा नेपालगञ्ज म्याराथनलाई लक्षित गरी खेल संस्कृतिलाई बढावा दिन स्कुल कलेजमा असोज दोस्रो सातादेखि लेक्चर सिरिज सञ्चालन गरिंदैछ। ओलम्पिकको विश्वव्यापी मुल्यमान्यता, शान्ति र एकताका लागि खेलकुदको भुमिकाका बारेमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरी यो कार्यक्रम अघि बढाइनेछ। यसका लागि युथ ओलम्पिक एम्बेस्डर चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ। चाहना नेपालगञ्ज म्याराथनको आउटरिच म्यानेजर हुन्। उनले समग्र म्याराथनको अपरेसन टिममा रहेर समेत जिम्मेवारी निर्वाह गर्नेछिन्। ट्रायथोलनकी अन्तर्राष्ट्रिय निर्णायक चाहनाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ग्रीसको ओलम्पियाडमा हरेक बर्ष सञ्चालन गर्ने युथ एम्बेस्डर कोर्ष २०२२ गरिसकेकी छिन्। कानुन बिषयमा स्नोत्तकोत्तर चाहना हाङझाव एशियाडकी प्राविधिक अधिकारी हुन्।
त्यस्तै गौघाट ग्रीन रन असोज अन्तिम वा कात्तिक पहिलो साता गर्ने तयारी छ। यसका लागि डिबी तामाङलाई संयोजक तोकिएको छ। मंसिर ५ गते कोहलपुर चौराह र बीपी चोकमा दीप प्रज्वलन हुनेछ। मंसिर २१ र २२ मा म्याराथन एक्स्पो सञ्चालन हुनेछ। जहाँ सहभागी खेलाडीले आफ्नो किट्स सहजै लिन पाउने व्यवस्था मिलाइनेछ।
विभिन्न उपभोग्य सामग्रीका स्टल रहनेछन्। त्यहाँबाट दर्ता भएका खेलाडीले बिशेष छुटमा खरिद गर्न सक्ने व्यवस्था हुनेछ। एक्स्पोका क्रममा पहिलोदेखि नवौं संस्करणसम्मका उत्कृष्ट फोटो प्रदर्शनी गरिनेछ। यसका लागि सार्वजनिक आह्वान भइसकेको छ। नेपालगञ्ज कनक्लेव दुई दिने हुनेछ। यसमा हुने प्रस्तुति, बहस र छलफलबाट स्थानीय तथा प्रदेश सरकारलाई नीति निर्माणमा मार्गनिर्देश हुने वातावरण तयार गरिनेछ। कनक्लेवका क्रममा पहिलोदेखि दशौं संस्करणसम्म आइपुग्दा बिशेष सहयोग गर्ने व्यक्ति, संघसंस्था तथा नेपाली खेलकुदको विकासमा महत्वपुर्ण योगदान दिएका व्यक्तित्वलाई ‘दशक रत्न सम्मान’ प्रदान गरिनेछ। यसरी दशौं कार्यक्रमका रुपमा मंसिर २२ गते बिहान धारा नेपालगञ्ज म्याराथनको दशौं संस्करण गरिनेछ। म्याराथनमा सहभागी सम्पुर्णलाई इलेक्ट्रोनिक विव र पदक दिने तयारी पनि आयोजकको छ।
हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले तीन मंसिर २२ गते शनिवार हुन लागेको हो।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगञ्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ।