नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले अस्ट्रेलियामा आयोजना हुने तीन वटा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।
उनले अस्ट्रेलियाको ब्रिसबेनमा आगामी सेप्टेम्बर १९ देखि २२ सम्म हुने तीन वटा प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका हुन्।
उनले अस्ट्रेलियन ओपन, प्रेसिडेन्ट कप र ओसियाना ओपनमा निर्णायकको भूमिकामा काम गर्नेछन्।
त्यहाँ उनले ग्यारोगी र पारातर्फको प्रतिस्पर्धाका खेल सञ्चालन गर्नेछन्। प्रतियोगिता खेलाउन अशोक मंगलबार अस्ट्रेलिया प्रस्थान गर्दैछन्।
प्रतियोगिता अस्ट्रेलियन तेक्वान्दो र ओसियना तेक्वान्दो महासंघको संयुक्त आयोजनामा हुन लागेको हो।
अशोकले गत वर्ष पनि उल्लेखित प्रतियोगितामा निर्णायक बनेर काम गरेका थिए।
यसअघि उनले यहि महिना दक्षिण कोरियामा दुई वटा प्रतियोगिताका खेल सञ्चालन गरका थिए।
अशोकले कोरियाको मुजु शहरमा अगस्ट १७ देखि २० सम्म हुने विश्व वरीयता जी-१ किम योङ कप अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए। त्यससपछि उनले सोलमा भएको १४औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को खेल सञ्चालन गरेका थिए।
खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका उनले झण्डै तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन्।