डडेल्धुराको परशुराम नगरपालिका–१२, जोगबुढाका स्थायी बासिन्दा दीपक बोहराले सन् २०२४ मा दक्षिण अफ्रिकामा भएको आइसिसी यू–१९ विश्वकप क्रिकेट खेले।
उक्त प्रतियोगितामा नेपाल सुपर सिक्समा पराजित भयो। त्यसअघि सन् २०२३ मा युएईमा भएको आइसिसी यू–१९ छनोट प्रतियोगिता पनि खेले। उक्त प्रतियोगिताको अन्तिम खेलमा घरेलु टिम युएईलाई हराएर नेपाल विश्वकपमा छनोट भएको थियो।
नेपालले सन् २०१६ पछि सन् २०२४ आइसिसी यू–१९ विश्वकप खेल्न पाएको थियो।
दीपकले २०२३ अक्टोबर मा यू–१९ एसिया कप छनोट प्रतियोगिता खेले। त्यसपछि २०२३ डिसेम्बरमा यू–१९ एसिया कप खेले।
यी उदियमान खेलाडी दीपकलाई परशुराम नगरपालिकाले पुरस्कृत गरेको छ। नगरपालिकाले यही गत असार २ गते एक लाख एक हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो।
नगरप्रमुख भरत बडायर जोशी र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संयुक्त रूपमा दीपकलाई दोसल्ला ओढाएर पुरस्कार हस्तान्तरण गरेका थिए।
नगरप्रमुख जोशीले परशुराम नगरपालिकाका खेलाडी दीपकले नेपाली टिमबाट ‘विश्वकप’ र ‘एसिया कप’ खेलेका हुनाले उनलाई पुरस्कृत गरेको बताए।
यू–१९ नेपाली पुरुष क्रिकेट टोलीका प्रतिभावान् खेलाडी दीपकले आगामी दिनमा परशुराम नगरपालिका र सिंगो देशको मान उच्च बनाउन प्रदर्शन गर्न सकून् भन्ने शुभकामना दिन पनि उनलाई सम्मान गरेको नगरप्रमुख जोशीले बताए।
दीपक यसरी आए क्रिकेटमा
दीपकका बुबा सरकारी जागिरमा छन्। आमा गृहिणी हुन्। आमाबुबाका चार सन्तानमा दीपक कान्छा हुन्।
जोगबुढाको रंगमैदानमा उनका दाइ र दाइका साथीहरू क्रिकेट खेल्थे। खेल देखेर दीपक खुब रमाउँथे र दाइहरूसँगै खेल्थे पनि बलिङ र ब्याटिङ गर्न पालो आउँदैन थियो। फिल्डिङ गर्न पाएर पनि रमाउँथे।
त्यसरी खेल्दा खेल्दै उनी क्रिकेटमा रत्तिए। क्रिकेट खेल्नु एक किसिमको लतजस्तै भयो। दाजुभाइको उमेर अन्तर निकै थियो। भाइको रूची देखेर दाइले १० वर्षअघि उनलाई क्रिकेट सिकाउन काठमाडौं पुर्याए।
त्यो समय दीपक तीन कक्षामा पढ्थे। दाइ स्नातक तहका विद्यार्थी थिए। काठमाडौंमा पढ्थे। दाइले अघि बढाएअनुसार दीपक क्रिकेटर भए। दाइ व्यापारी भए, उनी हाल पोल्यान्डमा छन्।
सानो उमेरमा आमाबुबा छाडेर हिँड्न दीपकलाई निकै कठिन भएको थियो तर उनलाई क्रिकेट प्रेमले जित्यो। काठमाडौं पुगेपछि उनले ‘क्रिक्रेट ट्रेनिङ सेन्टर’ मा पाँच वर्ष अभ्यास गरे। दैनिक तीन घण्टा क्रिकेट सिक्थे।
त्यसैबीच दीपकलाई क्रिकेट सेन्टरको होस्टलमा राखेर दाइ पोल्यान्ड गए। दीपकले कक्षा ८ सम्म नियमित पढे। त्यसपछि विद्यालयमा उपस्थिति घट्यो, नियमित हुन सकेनन्। क्रिकेट खेल्नु नपरेको फुर्सदको समयमा र परीक्षामा मात्र विद्यालय गए।
त्यही समय उनी ‘हिमालयन क्रिकेट एकेडेमीमा’ भर्ना भए। सिक्दै खेल्दै गर्ने क्रममा पहिलोपटक यू–१४ को क्लब स्तरीय ‘फ्रेन्डसिप प्रतियोगिता’ मा आफ्नो क्लबबाट सहभागी भए। प्रतियोगितामा उनले फिल्डिङ गर्न पाए।
डेब्यु म्याचका रूपमा यू–१५ समूहको क्लब स्तरीय प्रतियोगितमा ओपनर ब्याटरका रूपमा मैदानमा उत्रिए। त्यो प्रतियोगिताको पहिलो खेलमा उनले ३८ रन बनाए।
उनलाई त्यो खेलको स्मरण ताजा छ। ‘त्यो गेम खेल्दा म सानो थिएँ तर पनि डर लागेको थिएन। खेल्न पाएर निकै खुसी भएको थिएँ। राम्रो खेल्ने मात्रै सोचेको थिएँ,’ उनले भने, ‘पहिलो खेलमा बनाएको ३८ रन कहिल्यै बिर्सन सक्दिनँ।’
भक्तपुरमा भएको त्यो खेलले दीपकलाई खेलप्रति आत्माविश्वसा पलायो। क्लबस्तरीय खेलमा अघि बढ्दै गए। क्लबमा पनि राम्रा खेलाडीमध्ये गनिए।
सन् २०१९ मा यू–१६ को छनोट प्रतियोगितामा दीपक बाग्मती प्रदेशको टिममा छनोट भए र त्यो टोलीको कप्तानसमेत भए। यू–१६ को राष्ट्रिय छनोट प्रतियोगितामा उनको कप्तानीमा बाग्मती प्रदेश टिम बिजेता बन्यो।
प्रदेशपछि उनी यू–१६ को क्रिक्रेटको राष्ट्रिय टिममा पुगे, टिममा उपकप्तानीको जिम्मेवारी पनि पाए।
सन् २०१९ मा थाइल्यान्डमा भएको यू–१६ अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाइएका पाँच खेलमा नेपालले सबै खेल जितेको थियो। फाइनलमा दीपक ‘प्लेअर अफ द म्याच’ घोषित भए।
त्यसपछि दिपक यू–१९ छनोट प्रतियोगिताका लागि बाग्मती प्रदेशको बन्द प्रशिक्षणमा परे तर टिममा भने वैकल्पिक खेलाडीका रूपमा मात्रै छानिए।
दोस्रो पटकको यू–१९ छनोट प्रतियोगिता उनले आफ्नै जिल्लाबाट खेल्ने विचार गरे। त्यतिन्जेलमा उनी सिनियर टोलीबाट राष्ट्रियस्तरका प्रतियोगिता खेल्न थालेका थिए।
त्यही बेला महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ छनोट प्रतियोगिता भयो। प्रतियोगिताको पहिलो खेलमा सहभागी हुन पाएनन्। त्यसै दिन सशस्त्र प्रहरी बलको एपिएफ टिमबाट प्रधानमन्त्री कपको फाइनल खेल खेल्नुपर्यो।
काठमाडौंमा खेल सकिएपछि उनी धनगढी पुगे। यू–१९ छनोट प्रतियोगिताको दोस्रो खेल खेल्न पाए। उनले १६३ रन बनाए अनि सुदूरपश्चिमको यू–१९ टिममा परे। प्रदेशको टिमबाट राष्ट्रियस्तरको प्रतियोगिता खेले। त्यसपछि उनी यू–१९ नेपाली राष्ट्रिय टिममा परे।
उनले एपिएफ टिमबाट दुईपटक प्रधानमन्त्री कप खेले। एकपटक बाग्मती प्रदेशबाटै कप खेले। अब सुदूरपश्चिमबाट उक्त प्रतियोगिता खेल्ने विचारमा छन्।
त्यसपछि आइसिसी यू–१९ विश्वकप छनोट प्रतियोगिता पनि खेले। नेपाल विश्वकप छनोट भयो। दीपकले नेपालले यू–१९ विश्वकप पनि खेले। दीपकले २०२३ अक्टोबर मा यू–१९ एशिया कप छनोट प्रतियोगिता खेले। त्यसपछि २०२३ डिसेम्बरमा एसिसी यू–१९ एसिया कप खेले।
एसिया कपमा लिग चरणको अन्तिम खेलमा नेपाल ५२ रनको न्यून स्कोरमा समेटिएर हार ब्यहोर्दै बाहिरिएको थियो।
विश्वकप र एशिया कपमा नेपालले राम्रो खेल्न नसक्नुमा अभ्यासको कमी रहेको दीपकको ठहर छ। ‘विदेशी खेलाडीहरू धेरै खेल्छन्, म्याच (प्रतियोगिता) भइरहन्छन्। हामी थोरै खेल्छौं, म्याच नै थोरै हुन्छ। हामीले धेरै खेल्नुपर्छ र नयाँ टेक्निक (सिप) सिक्नुपर्छ,’ उनले भने।
उनका अनुसार नेपाल र विदेशमा मैदान पनि फरक छन्। मैदान फरक पर्दा पनि नेपाली खेलाडीलाई असर पर्ने गरेको उनको अनुभव छ।
अब दीपक सिनियर टिमबाट खेल्न चाहन्छन्। त्यस निमित्त आफूलाई योग्य बनाउन मिहिनेत गर्दै छन्।
‘अहिले म धेरै व्यस्त छु। तीन सालभित्र नेपाल टिमबाट खेल्नु छ। यसका लागि आफूले आफैलाई चुनौती दिएको छु,’ उनले भने।
आफ्नो जन्मथलो रहेको परशुराम नगरपालिकाबाट पुरस्कृत भएपछि उनमा ऊर्जा थपिएको छ।
दीपक हाल त्रिभुवन विश्वविद्यालय मैदानमा सिनियर खेलाडीहरूसँग क्रिकेट अभ्यास गर्दैछन्। उनी क्रिकेट खेलेर आफ्नो देश र आफूलाई चिनाउन चाहन्छन्। खेलमै जीवन समर्पण गर्न चाहन्छन्।