युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्तिहरु स्वस्फुर्त र निष्पक्ष हुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रबाट खेलाडीहरु विदेश पलायन नहुने गरी काम गर्ने प्रतिवद्धता जनाए।
उनले खेल क्षेत्रमा राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अबका दिनमा राजनीतिक नियुक्ति खेल र खेलाडीको विकासका लागि हुने बताए।
उनले स्काउटको जग्गा हडपेर बसेको कुरा स्पष्ट भएको भन्दै अब जग्गा फिर्ता लिने पनि बताए। उनले पहिला पहिला सुतेको मान्छेले सपना देख्ने भन्दै उनले अहिले आफूहरुले सपना देखेर सुत्न नसकेको बताए।
उनले रास्वापले ०८४ सम्म सुत्न छोडेर भएपनि देश विकासका लागि काम गर्नुपर्ने बताए। मन्त्री श्रेष्ठले आगामी सोमबारबाट खेल क्षेत्रको विकासका लागि एक्शनमा काम गर्ने प्रतिवद्धता जनाए।
उनले भने, ‘म तपाईहरुलाई के भन्छु भन्दा पहिला पहिला सुतेको मान्छेले सपना देख्थ्यो । अहिले हामीले सपना देखेर सुत्न सकेका छैनौँ । र यो ०८४ सम्म सुत्न पनि हुँदैन साथीहरु । युवा तथा खेलकुद मन्त्रालयमा हामीले धेरै कुरा शुरु पनि गरेका छाँै । यो सोमवारबाट धेरै एक्शन पनि तपाईहरुले पाउनुहुनेछ । त्यो पनि गर्दैछु । रवि दाईले सार्वजनिक जग्गाको कुराहरु पनि, खेलकुदको पनि, स्काउटको पनि धेरै सार्वजनिक जग्गाहरु लुटेर बसेका रहेछन् मान्छेहरु । पैसा पनि नदिने, लिएर पनि बस्ने, अदालतमा मुद्दा हाल्ने, स्टे अर्डर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् । राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ, तर खालि हुन लागेको छ । खेलाडीहरु विदेश पलायन नहुनेगरी राज्यले नियुक्ति गर्ने स्वस्फुर्त निष्पक्ष नियुक्ति हुँदैछ अब हाम्रो मन्त्रालयबाट ।’
उनले खेलकुद मन्त्रालयको स्थिति नाजुक रहेको र आफूले अबका दिनमा माथि लैजाने प्रतिवद्धता व्यक्त गरे।
-न्युज एजेन्सी नेपाल