दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमुल गोर्खाली नियुक्त भएका छन्।
अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा गर्ने प्रतियोगिताको १४ औं संस्करण हुन लागेको हो। कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुँदैछ।
आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले बुधबार गोर्खाली आईओएफटिसीको बोर्ड सदस्यमा नियुक्त भएको र त्यसपछि उनलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको जानकारी दिए।
आईओएफटिसीका महासचिव केरेन ब्लाकलेजले गोर्खालीलाई बोर्ड सदस्य र प्रतियोगिता संयोजकको नियुक्ती पत्र प्रदान गरिन्।
सो अवसरमा महासचिव ब्लाकलेजले गोर्खाली युवाहरुको संलग्नताले आईओएफटिसी च्याम्पियन्सिप अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरिन्।
महासचिव ब्लाकलेजका अनुसार गोर्खालीकै संयोजकत्वमा सन् २०२२ मा मिसिगनमा भएको १३ औं आईओएफटिसी च्याम्पियन्सिपमा सफलतापूर्वक सम्पन्न भएकोले पनि उनलाई सोलमा हुने आईओएफटिसी च्याम्पियन्सिपका लागि विश्वास गरिएको हो । गोरर्खाली एभरेस्ट तेक्वान्दो मिचिगनका निर्देशक पनि हुन्।
आईओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आईओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ।