भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकार आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउन आयोजना गर्दै आएको हाफ म्याराथनको तेस्रो संस्करण चैत दोस्रो साता हुने भएको छ।
एशोसिएसनले चैत १० गते काठमाडौंमा 'राइट टु प्रोटिन रन' को तेश्रो संस्करण आयोजना गर्न लागेको हो।
हाफ म्याराथन दशरथ रंगशालाबाट सुरु भएर रंगशालामै आइ समापन हुनेछ।
यस वर्षको म्याराथन तथा अन्य विधाका दौड प्रतियोगितामा सात हजार बढी धावक सहभागी गराउने लक्ष्य रहेको आयोजकको भनाइ छ।
प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किलोमिटर (पुरुष) र ३ किलोमिटर (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयर गरी आठवटा विधाका दौडहरु समावेश गरिएका छन्।
जम्मा पुरस्कार राशी करसहित १४ लाख १२ हजार पाँच सय रूपैयाँ रहेको छ। हाफ म्याराथनमा प्रथम पुरस्कार विजेताको पुरस्कार राशी कर सहित १ लाख ३३ हजार ३ सय ३३ रूपैयाँ तथा पाचौँ स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको छ। आफूले भाग लिएको विधामा दौड पूरा गर्ने सबै प्रतियोगीलाई मेडल पाउनेछन्।
प्रतियोगितामा नेपाल दाना उद्योग संघ र अन्तगर्तका दाना उद्योगहरु र पशु सेवा विभाग सहयोगीको रुपमा रहेका छन्।
दौड प्रतियोगितालाई नेपाल एथ्लेटिक एशोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेको छ। कार्यक्रममा सहभागी हुन www.runforprotein.com.np मा गएर सय रुपैयाँ तिरी अनलाइनबाट रजिष्टेशन गर्न सकिन्छ।
सहभागीलाई दर्ता शुल्क वापत टिसर्ट र रिफ्रेसमेन्ट प्रदान गरिने छ।
गत वर्षको म्याराथनमा पाँच हजार जना धावक सहभागी थिए। हाफ म्याराथनमा महिलातर्फ फुलमती राना र पुरुषतर्फ दिपक अधिकारीले जितेका थिए।