माइस इन्टरनेसनल सर्भिस प्रा.लि. र नेपाल ईस्पोर्ट्स एसोसिएसन (नेसा) ले संयुक्त रुपमा स्पोर्ट्स कनेक्ट आयोजना गर्ने भएको छ।
नेपाल ओलम्पिक कमिटिसहित खेलका विभिन्न संगठन र संस्थावीच नेटवर्किङ र समन्वय गर्ने यस किसिमको खकार्यक्रम पहिलोपल्ट हुन लागेको हो।
स्पोर्ट्स कनेक्ट काठमाडौंको भृकुटीमण्डपमा चैत २२ देखि २४ गतेसम्म (अप्रिल ४ देखि ६, २०२४) सञ्चालन हुनेछ ।
यसमा मुख्यत तीन ठूला कार्यक्रम आयोजना गरिने छ। जसमा चौथो नेपाल ईस्पोर्ट्स च्याम्पियनसिप तथा नेपाल एक्स्पो २०२४, स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो२०२४ र नेपाल स्पोर्ट्स कन्क्लेभ २०२४ हुनेछ ।
चौथो नेपाल ईस्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो २०२४ हुनेछ, जसको आयोजक नेसा रहेको छ। ईस्पोर्ट्समा प्रतियोगिता र प्रदर्शनी हुने छ । डोटा २, काउन्टर स्ट्रइक २, पब्जी मोबाइल, एमएलबीबी ओपन, एमएलबीबी वुमेन र ईफुटबलमा खेलाडी तथा टिमले उपाधि तथा देशको प्रतिनिधित्व गर्दै विश्व स्तरमा खेल्न पाउने अवसरको लागि प्रतिस्पर्धा गर्नेछन्।
यो च्याम्पियनसिप इन्टरनेसनल ईस्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले आयोजना गर्ने १६ औं विश्व ईस्पोर्ट्स च्याम्पियनसिप २०२४ को छनोटको रुपमा पनि रहने छ। विश्व च्याम्पियनसिप नोभेम्बर ११ देखि १९, २०२४ मा साउदी अरेबियाको रियादमा हुने छ, जहाँ विश्वकै उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्नेछ।
ईस्पोर्ट्स र फिटनेस उद्योगको लागि स्पोर्ट्स एन्ड फिटनेस एक्स्पोमा खेल सामाग्र उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, क्लब, प्रतियोगिता, च्याम्पियनसिप, खेल संघ, शैक्षिक संस्था, आर्थिक प्रविधि, इन्टरनेट सेवा प्रदायक, ईस्पोर्ट्सका डिभाइस तथा सेवा प्रदायक, स्पोर्ट्स एसेसरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आ–आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन्। त्यसैले खेल, ईस्पोर्ट्स र फिटनेस क्षेत्रका व्यवसायिक, व्यापारिक नेटवर्क र समन्वयको लागि स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो २०२४ उपयुक्त कार्यक्रम हुने छ ।
नेपाल ओलम्पिक कमिटिसँगको समन्वयमा नेपाल स्पोर्ट्स कन्क्लेभ २०२४ आयोजना गर्न लागिएको हो। जसमा नेपाली खेलकुद उद्योगमा नवीनताका लागि तार्किक संवाद र बृहत्छलफल हुने छ। यसले सरोकारवाला, विज्ञ र उत्सुकलाई सकारात्मक परिवर्तन र बृद्धि विकासका लागि एउटै स्थानमा भेला गर्नेछ।