दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को १४ औँ संस्करणको तयारी सुरु भएको छ।
कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुनेछ।
आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले सोमबार तेक्वान्दो मास्टर्सद्वय अमुल गोर्खाली र तेक्वान्दो मास्टर नेत्रबहादुर घर्ती मगरले अमेरिकाको पोर्टल्यान्डमा रहेको युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडबाट सहभागी हुने आयोजक टिमका खेलाडीहरुलाई दुई दिनको विशेष प्रशिक्षण दिनुभएको जानकारी दिनुभयो । प्रशिक्षकद्वयले पुम्से, स्पाइरिङ, ग्यारोगी विधाका साथै निर्णायकहरुलाई नयाँ स्कोरिङ सिस्टमबारे पनि ज्ञान दिनुभएको थियो ।
सिक्स डान घर्तीमगर प्रतिष्ठित दुई तेक्वान्दो प्रतियोगिता युएस ओपन र क्यानाडा ओपनमा खेलेर हलिउड तेक्वान्दो स्कुलबाट सहभागी हुने प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिन पोर्टल्यान्ड आउनुभएको हो । घर्ती मगरले विगत दस वर्षदेखि युएइको अबुधाबीमा रहेको बाराउडी स्पोर्ट्स क्लबमा तेक्वान्दो सिकाउँदै आउनुभएको छ । यसैगरी अर्का प्रशिक्षक गोर्खाली इभरेस्ट तेक्वान्दो मिचिगनका डिरेक्टर पनि हुनुहुन्छ ।
आइओएफटिसीका निर्देशक महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दुई दिने ट्रेनिङ क्याम्पको समापन कार्यक्रममा गोर्खाली र घर्तीमगरलाई स्पेशल अवार्ड प्रदान गर्नुभयो ।
अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।
आइओएफटिसीको १४ औँ संसकरणमा सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ।