सुन्दरीमाई तेक्वान्दो डोजाङ नेपालले शनिबार अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेको छ।
विश्व तेक्वान्दो मुख्यालय (कुकिवन)बाट तेक्वान्दोको छैटौँ डान डिग्री हासिल गरिसक्नुभएका क्षेत्रीलाई तेक्वान्दो खेलमा पुर्याएको योगदानस्वरुप विपी सङग्रहालयमा आयोजत कार्यक्रममा सम्मानित गरिएको हो।
तेक्वान्दो मास्टर क्षेत्री राष्ट्रपतिबाट जनसेवा पञ्चम श्रेणीले विभूषित समेत भइसक्नुभएको छ । क्षेत्रीले सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्ष पनि उत्तीर्ण गर्नुभएको थियो ।
यसैगरी, कोरियाली सरकारले उहाँलाई सन् २०१८ मा मानार्थ नागरिक पदवी पनि प्रदान गरेको थियो । दक्षिण कोरियामा नेपाली तेक्वान्दो खेलाडीलाई समस्या पर्दा सँधै अगाडि आएर सहयोग गर्ने व्यक्तिको रुपमा पनि उहाँ चिनिनुहुन्छ।
लामो समयदेखि तेक्वान्दोमा समर्पित क्षेत्रीले खेलाडीका रुपमा विश्व वरीयताको जि टु प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक पनि जित्नुभएको छ ।