विश्व वरीयता जी-२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्रीले निर्णायकको भूमीका निर्वाह गर्ने भएका छन्।
अमेरिकाको रेनोको सिल्भर लिगेसी रिसोर्टमा फेब्रुअरी १६ देखि १८ सम्म हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटिको संयोजनमा हुँदैछ।
प्रतियोगितामा ओलम्पियन तथा विश्व च्याम्पियन खेलाडी समेत गरी २ हजार १ सय ४० खेलाडीको सहभागिता रहनेछ।
यसअघि क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयता (जी-१) किम योङ कप, अमेरिकाको लास भेगासमा भएको २०२३ युएस ओपन विश्व वरीयता जी-२ र दक्षिण कोरियामा भएको २०२३ सियोङनाम ओपनमा पनि निर्णायकको भूमीका निर्वाह गरेका थिए।
एनआरएनए दक्षिण कोरियाका पूर्वअध्यक्ष समेत रहेका क्षेत्री कोरिया ओपन विश्व वरीयता जी-२ अन्तर्राष्ट्रिय प्रतियोगिता २००८ का स्वर्ण पदक विजेता हुन्।
क्षेत्रीलाई खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएबापत् कोरियाली सरकारले सन् २०१३ मा मानार्थ नागरिकताले सम्मान गरेको थियो।