युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र भारतीय समकक्षी अनुराग सिंह ठाकुरबीच भेट भएको छ।
मन्त्री ठाकुरको निमन्त्रणामा नयाँ दिल्लीमा आयोजित प्रथम बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसीप २०२४ को उद्घाटन समारोहमा सहभागी हुन पुगेका मन्त्री लिम्बूबीच भेट भएको हो।
उनीहरूबीच भएको औपचारिक भेटमा द्विपक्षीय सम्बन्ध र नेपालको खेल क्षेत्रको विकासका बारेमा विशेष छलफल भएको बताइएको छ।
सो अवसरमा नेपाल र भारतबीच युवा एक्सचेन्ज कार्यक्रमसम्बन्धी समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसके पनि उक्त कार्यक्रम सुरू हुन नसकेकोले सो कार्यक्रमलाई अघि बढाउने विषयमा सकारात्मक छलफल भएको थियो।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का अध्यक्ष रहिसकेका मन्त्री ठाकुरले नेपालको क्रिकेटबारे समेत जानकार रहेको र नेपालको क्रिकेटको विकासका लागि द्विपक्षीय संवादलाई निरन्तरता दिँदै आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न भारत तत्पर रहेको समेत बताएका छन्।
मन्त्री लिम्बूले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद समेतको सुझाव र सहभागितामा आगामी दिनमा भारतीय पक्षसँगको संवादलाई अघि बढाइने जानकारी दिए।
फेब्रुअरी ६ देखि फेब्रुअरी ९, २०२४ सम्म भारतको नयाँ दिल्लीमा चलेको सो प्रतियोगितामा बिम्सटेकमा आबद्ध राष्ट्रहरू भारतसहित नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका ४०० भन्दा बढी खेलाडी, व्यवस्थापक तथा खेल पदाधिकारीहरू सहभागी थिए। मन्त्री लिम्बूले आफ्ना भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्।