माघ २८ गते हुने पल्सर स्पोर्ट्स अवार्डमा प्रदान गरिने ९ विधामध्ये पाँच विधाको उत्कृष्ट तीनको छनोट गरेका गरिएको छ।
उत्कृष्ट तीनबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ। वर्ष युवा खेलाडीको शीर्ष तीनको छनोटमा क्रिकेटका देव खनाल, एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ रहेका छन्।
वर्षका उत्कृष्ट प्रशिक्षकको शीर्ष तीन छनोटमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा रहेका छन् ।
वर्षको उत्कृष्ट पुरुष खेलाडीको शीर्ष तीनमा क्रिकेटका आशिफ शेख र रोहितकुमार पौडेल तथा एथलेटिक्सका दीपक अधिकारी परेका छन्।
वर्षको उत्कृष्ट महिला खेलाडीको शीर्ष तीनमा बास्केटबलकी अनुशा मल्ल, एथलेटिक्सका पुष्पा भण्डारी र राजपुरा पछाईं परेका छन् ।
शीर्ष तीनमा परेका खेलाडी र प्रशिक्षकको उपलब्धि यसैसाथ संलग्न गरिएको छ ।
वर्षका उत्कृष्ट खेलाडी महिला
अनुशा मल्ल (बास्केटबल)
– माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत
– साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी
– नेपालले खेलेको तीनमध्ये दुइ खेलमा नेपालको तर्फबाट उच्च स्कोर गर्ने खेलाडी
– नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल
पुष्पा भण्डारी (एथलेटिक्स)
– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य
– सहारा हाफ म्याराथन स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा रजत
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत
– मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत
राजपुरा पछाई (एथलेटिक्स)
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत
– वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण
– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण
– नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण
– राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत
वर्षका उत्कृष्ट पुरुष खेलाडी
आसिफ शेख (क्रिकेट)
–वर्ष २०७९ को एकदिवसीय अन्तर्राष्ट्रियमा कुल १ हजार ९३ रन बनाउन सफल खेलाडी
–विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध बनाएको ११० रनको शतकीय इनिङ्स
–एकदिवसीय अन्तर्राष्ट्रियमा ७ अर्धशतक बनाउन सफल खेलाडी
दीपक अधिकारी (एथलेटिक्स)
–एसियाली क्रसकन्ट्री दौडमा २ स्वर्ण, घरेलु प्रतियोगितामा ४ स्वर्ण र १ रजत
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा स्वर्ण
–१६औं एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
–नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
–दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण
–कान्तिपुर हाफ म्याराथनमा रजत
रोहित पौडेल (क्रिकेट)
– नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) जोगाउँदाका कप्तान
–वर्ष २०७९ मा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ४ अर्धशतकसहित ६ सय ७९ रन बनाउन सफल
–स्कटल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको योगदान
वर्षका उत्कृष्ट युवा खेलाडी
देव खनाल (क्रिकेट)
– नेपालले ८ वर्षको खडेरी तोड्दै २०२४ को आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान
– देव खनालको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल
– ५ खेलको ३ इनिङ्समा ६५ माथिको औसतमा १ सय ९७ रन बनाउन सफल
– कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा १ सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल
– उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय प्रतियोतामा उपविजेता
राममाया बुढा (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत (महिला जुनियर ६ किमि)
– एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण विजेता
– गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण र ५ किमिमा रजत
– देवदह हाफ म्याराथनमा स्वर्ण र राइट टु प्रोटिन रनमा रजत
– दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत
– तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा स्वर्ण
सुष्मा तामाङ (बक्सिङ)
– एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत
– नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक । फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जित ।
– एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वल्र्ड बक्सिङ च्याम्पियनसिपमा छनोट
– नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वाग्मती प्रदेशका लागि स्वर्ण
– विश्व महिला बक्सिङ च्याम्पियनसिप, भारतमा सहभागी
वर्षका उत्कृष्ट प्रशिक्षक
चन्द्र गुरुङ (एथलेटिक्स)
– १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक । सिनियरमा २ स्वर्ण र १ कांस्य तथा जुनियरमा २ रजत र १ कांस्य
–बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल १ स्वर्ण र २ कांस्य जित्दाका प्रशिक्षक
दीपक महर्जन (बक्सिङ)
– एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा १ रजत र ३ कांस्य पदक दिलाउँदाका प्रशिक्षक ।
–च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कांस्य जित्न सफल ।
जगत टमाटा (क्रिकेट)
– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ८ वर्षपछि छनोट गराउन सफल प्रशिक्षक
– यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल आईसीसी विश्वकप क्रिकेटमा पुग्न सफल