रोटरी क्लब अफ रत्ननगरले रोटरी मिनी म्याराथन गर्ने भएको छ।
राष्ट्रिय प्रतिभाहरूको पहिचान र प्रवर्द्धनका लागि फागुन १९ गते ‘रोटरी मिनी म्याराथन आरसी रत्नगनगर २०२४’ को आयोजना गरिएको संयोजक विपिन पोख्रेलले जानकारी दिए।
१५.५ किलोमिटरको खुला र महिलाको लागि पाँच किलोमिटर दूरीको मिनी म्याराथन गर्न लागिएको हो।
पुरूषतर्फको म्याराथन नारायणी नदीको किनारबाट रत्ननगरको निपनीस्थित होटल स्टारसम्म हुनेछ। महिलातर्फको प्रतिस्पर्धा टिकौली जंगलबाट होटल स्टारसम्म हुनेछ। प्रतिस्पर्धामा करिब चार सय जना प्रतियोगी सहभागी हुने पोखरेलले बताए।
म्याराथन भरतपुर महानगरपालिकाको भरतपुर भ्रमण वर्ष २०२४ को प्रबर्द्धनका लागि पनि सहयोगी हुने क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए।
पुरूषतर्फको म्याराथनका बिजेतालाई नगद एक लाख, दोस्रो हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ।
महिला तर्फको खेलमा प्रथम हुनेलाई २० हजार, दोस्रोलाई १५ र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ व्यवस्था गरिएको छ। दौड पुरा गर्ने चेपाङ समुदायका सहभागीलाई दुई हजार रुपैयाँसहित प्रमाणपत्र दिइनेछ। क्लबका पुर्व अध्यक्ष सुरेन्द्रनाथ रेग्मीले रोटरी क्लब अफ रत्ननगर सामाजिक काममा सक्रिय रहँदै आएको बताए।
क्लबले पुस्तकालय, सार्वजनिक शौचालय, विद्यालयका संरचना निर्माण, विद्यालय खाजा कार्यक्रम, घण्टाघर निर्माण, भरतपुर, बकुलहर अस्पताल तथा मुसहर बस्तीलाई सहयोग गरेको उनले बताए।