नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री घोषित भएका छन्।
वर्ल्ड तेक्वान्दोको आयोजनामा गत शुक्रबादेखि आइतबारसम्म भएको प्रतियोगितामा अशोकले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेका थिए। अशोकसहित आठ देशका १२ रेफ्रीले खेलहरू सञ्चालन गरेका थिए। १२ रेफ्रीमध्ये अशोक उत्कृष्ट घोषित भएका हुन्।
कार्यक्रममा अशोकलाई वोर्ल्ड ओलम्पिक तेक्वान्दो फेडरेसन्स स्पेन च्याप्टरका अध्यक्ष भिक्टोर पिजारो बार्सेलोले उत्कृष्ट रेफ्रीको ट्रफी प्रदान गरे।
यहि महिनाको सुरुमा अशोक पुम्से विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका थिए।
उनले सन् २०२३ मा दक्षिण कोरियामा विश्व तेक्वान्दो पुम्से च्याम्पियन्सिप, किमुनयोङ कप, अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन, प्रेसिडेन्ट कप, ओसियना ओपन पुम्से च्याम्पियनसिप, बुल्गेरिया ओपन, सन् २०२२ मा चुनचुन कोरिया ओपन, सन् २०२० मा मेक्सिको ओपन, सन् २०१९ मा १३ औँ दक्षिण एसियाली खेलकुद तथा डब्ल्यूटी प्रेसिडेन्ट कप अस्ट्रेलिया र दक्षिण कोरियामा ४५ औँ अन्तर्राष्ट्रिय पुम्से रिफ्रेसर कोर्स २०२२ मा सहभागिता जनाएका थिए।
दुई वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले अशोकलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकबाट सम्मान गरेको थियो। अशोक ग्योरोगी, पुम्से र पारा तेक्वान्दो गरी तीनै विधाका अन्तर्राष्ट्रिय निर्णायक हुन्।