नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) दिनेश दाहाल स्मृति पाँचौँ अन्तर डोजाङ तेक्वान्दो च्याम्पियन्सिपको च्याम्पियन बनेको छ।
नेप्लिज तेक्वान्दो एकेडेमी शनिबार टिम च्याम्पियन बन्ने क्रममा आठ स्वर्ण, पाँच रजत र तीन काश्य पदक जित्यो।
यस्तै दोस्रो बनेको अल्पाइनले सात स्वर्ण, पाँच रजत र १२ काश्य पदक जित्यो। प्रतियोगिता डाँछिस्थित अल्पाइन स्कुलको हातामा भएको थियो।
यस्तै सनसाइन स्कुलले छ स्वर्ण, १२ रजत र २२ काश्य पदक जितेर तेस्रो स्थान हासिल गर्यो।
नेप्लिज तेक्वान्दो एकेडेमी र अल्पाइन एकेडेमीले कोभिडको समयमा निधन भएका पत्रकार तथा तेक्वान्दोकर्मी दिनेश दाहालको सम्झनामा प्रतियोगिताको आयोजना गरेको हो।
तीन जना सम्मानित
कार्यक्रममा नेप्लिज तेक्वान्दो एकेडेमीले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाउने तेक्वान्दो खेलाडी वीरबहादुर महरालाई पाँच हजार रुपियाँसहित दिनेश दाहाल स्मृति खेलकुद प्रतिभा पुरस्कारले सम्मान गरेको छ।
सोही अवसरमा खेलपत्रकारद्वय गोरखापत्रका प्रजित शाक्य र सेतोपाटीका सीताराम कोइरालालाई पनि सम्मान गरिएको थियो।
सम्मानित सबैलाई कागेश्वरी मनोहर नगरपालिकाका मेयर उपेन्द्र कार्कीले ताम्रपत्रसहित सम्मान पत्र हस्तान्तरण गरे।