दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ।
भब्य उदघाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो। दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे।
यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो। प्रतियोगितामा नेपालका तर्फबाट दुई स्की खेलाडीको सहभागिता रहेको छ।
त्यसमा पुरुषतर्फ छोवाङ विन्गुर तामाङ र महिलातर्फ लक्ष्मी राईको सहभागिता रहेको छ।
उद्घाटन समारोहमा आयोजित मार्चपासमा छोवाङले नेपालको झण्डा बोकेका थिए। प्रतियोगिता फेब्रवरी १ सम्म सञ्चालन हुनेछ ।
प्रशिक्षक भने सफलराम श्रेष्ठ रहेका छन्। छोवाङ र लक्ष्मी दुवैले स्लालम र जायन्ट स्लालममा भाग लिनेछन्।
उनीहरूले यसअघि १५ दिनको विशेष प्रशिक्षण कार्यक्रम ‘ड्रिम प्रोजक्ट’ मा पनि सहभागिता जनाएका थिए।
शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो सहभागिता हो। यसपल्टको शीतकालीन युथ ओलम्पिकमा कुल ७८ देशका १ हजार ८ सय २ खेलाडीको सहभागिता रहनेछ। सहभागी खेलाडी यू–१९ समूहका रहेका छन् ।