बुटवल उपमहानगरपालिकामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू हुँदैछ।
नगर खेलकुद विकास समितिले प्रतियोगिता आयोजनाको सम्पुर्ण तयारी पूरा भएको र बिहिबार प्रतियोगिता उद्घाटन हुने जनाएको छ।
गतबर्ष सामुदायिक र संस्थागत गरी ३८ बिद्यालयले भाग लिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष सामुदायिकतर्फ २१ र संस्थागततर्फ २१ गरी ४२ वटा विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा भाग लिने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।
पियाका अनुसार गत वर्षको तुलनामा यस वर्ष सहभागी हुने टीमको संख्या बढेको छ। उनले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको जानकारी दिए।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १७ विधाका ५४ खेलमा १ हजार ४२२ विद्यार्थीले भाग लिने अध्यक्ष पियाले बताए। प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउने र खेलाडीहरुको बीमाको समेत व्यवस्था गरिएको उनले बताए।
प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए।
प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मुल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको छ।
यस्तै मार्चपासमा सहभागी भइ उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको पियाले जानकारी दिए।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि प्रतियोगिता अवसर रहेको बताउँदै प्रतियोगितालाई नियम संगत अनुशासन ढङ्गले सञ्चालन गर्दै राष्ट्रिय प्रतियोगितासरह बनाउन आग्रह गरे।
उनले बुटवलले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउँदै छिटै नै विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए।
प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्यालीमा सहभागीमध्ये उत्कृष्टलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।
नगर खेलकुद विकास समितिका सचिव प्रेम बस्नेतले मार्चपासमा सहभागीमध्ये मूल्याङ्कनको आधारमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने जानकारी दिए।
प्रतियोगिता बिहीवार बिहान ११ बजेदेखि बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने छ।
गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो भने नवीन औद्योगिक माध्यमिक विद्यालय दोश्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेश्रो भएका थिए।