मध्यपुर ठिमीमा जारी २६ औं भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा बुधबार पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जितेका छन्।
यस विधामा नेपाली सेनाकै मुक्तिराम घलेले रजत जिते। त्यस्तै, जुनियर ६७ केजी पुरुषतर्फ कास्कीका रोशन चुनवाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत जितेका छन् ।
त्यस्तै, युथ पुरुष ६७ केजीतर्फ सप्तरकी अनुराग सिंह पहिलो र कञ्चनपुरका दिपेश घटाल दोस्रो भए।
७३ केजीतर्फ सिनियर पुरुषमा नेपाल प्रहरीका प्रकाश केसी पहिलो र कञ्चनपुरका अशोकसिंह भण्डारी दोस्रो भए।
७३ केजी जुनियर पुरुषतर्फ कञ्चनपुरका हेमन्त पाल पहिलो र इलामका पुस्कर राई दोस्रो भए । ७३ केजी युथतर्फ सप्तरीका हेमनारायण यादव स्वर्ण जित्न सफल भए ।
यसअघि मंगलबार महिला ४९ केजीतर्फ नेपाल प्रहरीकी कृष्णकला विष्टले नयाँ राष्ट्रिय किर्तिमान बनाएकी थिइन् । उनले स्न्याचतर्फ ५९ र क्लिन एन्ड जर्कतर्फ ७७ किलो उचाल्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जितिन् । यही विधामा नेपाली सेनाकी सिर्जना तामाङले रजत जितिन् । त्यस्तै ५५ केजी पुरुष सिनियरतर्फ नेपाल प्रहरीका दिलिप यादवले स्न्याचतर्फ ८२ र क्लिन एन्ड जर्कतर्फ १ सय ३ किलो भार वहन गर्दै नयाँ राष्ट्रिय किर्तिमानसहित स्वर्ण जिते । यही विधामा नेपाली सेनाका दीपकबहादुर भण्डारी दोस्रो भए।
पुरुष ६१ केजीतर्फ नेपाली सेनाका तुलाराम महतोले स्वर्ण र एपिएफका पारस देसारले रजत जिते । महिला ४५ केजी सिनियरतर्फ नेपाल प्रहरीकी हिरामोति थारु पहिलो र एपिएफकी लिला राई दोस्रो भए । ५५ केजी महिला सिनियरतर्फ नेपाली सेनाकी प्रभा थारु पहिलो र ललितपुरकी सप्रिना श्रेष्ठ दोस्रो भए ।