नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगिताको पुरुषमा १ सय ५० पुरुष र महिलामा ४० गरी १ सय ९० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्यूत खनालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगिताको फाइनल खेल रविभवनस्थित नाथम कलेजमा हुनेछ।
त्यसअघि शुक्रबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट प्रतियोगिता हुनेछ। छनोट प्रतियोगिताबाट समान १०/१० पुरुष-महिला खेलाडी फाइनल चरणका लागि छनोट गरिने छ ।
पुरुष-महिलामा १/१ गरी २ स्पर्धामा खेल हुनेछ। दुवैमा फ्रिस्टायल बेस्ट रनमा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव सत्य थापाले जानकारी गराए।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुने लागेको यो तेश्रोपटक हो।
यसअघका संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो।