पब्जी मोबाइलमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बुधबार मकाउ प्रस्थान गरेको छ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे।
सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र संगिन भट्टराई (साङ) रहेका छन् ।
एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ। पब्जी मोबाइल जुन २३ देखि २६ तारिखसम्म हुनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपालमा पनि इस्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषद्मा दर्ता भएका अन्य खेल सरह यो खेललाई पनि अभिभावकत्व प्रदान गर्ने बताए ।
चीनमा हुने यसपटकको एसियाली खेलकुदमा यो पटक इस्पोर्ट्समा पनि प्रतिस्पर्धा हुँदैछ।