चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ।
थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाएका छन्। दुई खेलाडी बाहेक सबै विभागीय टोलीका हुन्।
थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट भए।
नान् छ्वान अलराउन्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगर छनिए।
थाइची छ्वान अलराउन्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट भए।
महिला चेन सु÷छियाङ सुमा एपीएफकी कविता थापा छनोट हुन सफल भइन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सान्सौंतर्फ पुरुष ५६ केजीमा एपीएफका रोहित चुनारा, ६० केजीमा एपीएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका समन घुस्री र ७० केजीमा आर्मीका पदम राईले अन्तिम छनोटमा सफलता पाए । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी सफल भइन् ।