अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६–४, ३–६ र ६–२ को सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा प्रदीप खड्का र अभिषेक बाँस्तोला उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा प्रदीपले आर्यन गिरीलाई ६–० र ६–२ तथा अभिषेकले प्रणव खनाललाई ६–१ र ६–० को सोझो सेटमा हराए ।
नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र महेश श्रेष्ठको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा अनिल साइ र गोपी भण्डारीको चुनौती ६–२, ४–६ र १०–८ ले पन्छाए । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई सीधा सेटमा ६–३ र ६–० ले पाखा लगाउदै विजेता बने ।
४५ वर्षमाथि मोहम्द युनुस र अन्वर अलीको जोडीले शीर्ष स्थान ओगटे । उनीहरुले फाइनलमा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६–४ र ६–० ले निराश पारे ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले बिमल वाइबालाई ७–५ र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । फइनलमा तुलेश्वरको भेट राजु श्रेष्ठसंग हुनेछ । राजुले उत्तमकुमार लामाबाट वाक ओभर पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–० र ६–२ तथा मोहम्द युनुसले मानबहादुर कट्वाललाई ६–० र ७–५ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
जुनियर : अर्याश र सरालाई स्वर्ण
प्रतियोगिताअन्तर्गत यु–९ सिंगल्सको ब्वाइजमा अर्याशराज पौडेल र गल्र्समा सरा पन्तले बिहीबार स्वर्ण जितेका छन् । फाइनलमा अर्याशले निश्चल ज्ञवालीलाई ५–३ र ४–२ तथा सराले थैय श्रेष्ठलाई ४–१ र ४–१ को सोझो सेटमा पराजित गरे।
यु–१२ सिंगल्सको ब्वाइजमा अशभसम्राट हाडा तथा गल्र्समा साल्भी शेरचन च्याम्पियन बने । फाइनलमा अशभले हभिस वंशललई ६–३ र ६–१ तथा साल्भीले आयुशा जिसीलाई ६–२, ०–६ र ६–२ को सेटमा हराए ।
यु–१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारीले श्रृजन भट्टराईलाई ६–१ र ६–० तथा वृजेश अर्यालले दर्शिल श्रेष्ठलाई ४–६, ६–४ र ६–२ ले पाखा लगाउदै फाइनल भिडन्त पक्का गरे । सो स्पर्धाको गल्र्समा सिभाली गुरुङले प्राज्ना मानन्धरलाई ६–१ र ६–० तथा स्वस्तिका विष्टले समृद्धि महर्जनलाई ६–० र ६–२ को सोझो सेटमा पन्छ्याउदै फाइनलमा पुगे ।
यु–१६ ब्वाइज सिंगल्समा राजवीर प्रधानले वृजेश अर्याललाई ६–१ र ६–१ तथा शंकर हैस्नान्ले आयुशमान हजुर घलेलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउदै उपाधि भिडन्त निश्चित गरे । उक्त स्पर्धाको गल्र्समा सिभाली गुरुङले प्राज्ना मानन्धरलाई ६–२ र ६–० तथा सुनिरा थापाले स्वस्तिका विष्टलाई ६–४ र ६–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे ।