‘१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ को पुरूष एकल तर्फको उपाधी नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले जितेका छन्।
बिहीबार भएको फाइनल खेलमा प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–११ र २१–११ ले पराजित गरी उपाधी जितेका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विजयी खेलाडीहरूलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।
महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवकी रसिला महर्जनले नेपाल एपिएफ क्लवकी जेसिका गुरुङलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि हात पारेकी छन्।
१९ वर्षमुनिको खेलमा नेपाल एपिएफ क्लबका क्षितिज खनालले एपिएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधी जितेका छन्।
अन्डर टुभेल ब्वाइज अन्तर्गतको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रीजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पराजित गरी उपाधी जितेका हुन्।
यसैगरी मेन्स डवलतर्फ नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र विजित थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित गरी उपाधी जित्न सफल भएका छन्।
वुमेन्स डवलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रशीला महर्जन र अनुमाया राईले नेपाल एपिएफ क्लबका जेशीका गुरुङ र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरी उपाधी जित्न सफल भएका छन् भने मिक्स डबलतर्फ नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र जेसिका गुरुङले नेपाल एपिएफ क्लबकै विजीत थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित गरी फाइनल खेल जित्न सफल भएका छन्।
यसैगरी ५५ वर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धि चौधरी र धादिङका बिष्णुलाल श्रेष्ठले बैतडीका पूर्ण चन्द्र जोशी र किर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधी जितेका छन् भने ४५ वर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपिएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भुकुमार श्रेष्ठलाई २१–१३, २२–२० ले पराजित गरी उपाधी जितेका छन्।
ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) तर्फको खेलमा नेपाल टेलिकमका सोभाखर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपिएफ क्लबका धिरेन्द्र चन्द र सुधिर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गरी उपाधी जितेका हुन्।
नेपाल एपिएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपिएफ क्लबको कभर्ड हलमा जेठ २१ गतेदेखि संचालन भएको हो।
कुल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगिताका सम्पुर्ण खेलहरू ब्याडमिन्टन वोर्ल्ड फेडेरेशन र ब्याडमिन्टन एशियन कन्फिडिरेशनको नियमअनुसार खेलाइएको सशस्त्र प्रहरीले जनाएको छ।