भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन्। भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन्।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित ग¥यो। भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गरे। १ ट्राइबाट ५ अंक प्राप्त हुन्छ। भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले। १ कन्भर्सन वापत २ अंक दिइन्छ। मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे।
महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो। विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राइ गरे। मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन्। ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गरे।
मकवानपुरको महिला टोलीले उपाधि निश्चित गरेपछि मैदानमा खुशीयाली मनाइ राख्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा मैदानमै पुगेर टोलीलाई बधाइ दिएकी थिइन्।
दुईदिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। बागमती प्रदेश खेलकुदमा रग्बी पहिलोपटक समावेश गरिएको हो। विभिन्न १३ खेल समावेश बागमती प्रदेश खेलकुदअन्तर्गत अब पुरुष फुटबलको फाइनल मात्र बाँकी छ। फुटबल फाइनल शनिबारै अपरान्ह ४ः०० बजे पिप्ले क्याम्पा रंगशालामा हुनेछ।