युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदलाई राजनीतिबाट मुक्त गरेर अगाडि बढाउन कुनै पनि समस्या नरहेको बताएका छन्।
नेपाल ओलम्पिक कमिटीले बुधबार आयोजना गरेको एक कार्यक्रममा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउन कुनै समस्या नभएको बताएका हुन्।
उनले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहेको बताए।
उनले चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा सहभागी हुने गृहकार्य भइरहेको बताए।
नेपाल ओलम्पिक कमिटीले युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वागत गर्दै सम्मान गरेको छ।
कमिटीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए।
यस्तै, मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक संस्था रहेको बताए।
मन्त्री भण्डारी ओलम्पिक कमिटीका सल्लाहकार पनि हुन्।
कमिटीका अध्यक्ष श्रेष्ठले अझै पनि खेलकुद ऐन अनुसार यसलाई अगाडि बढाउने चुनौती रहेको बताए।
कार्यक्रममा कमिटीका पूर्वअध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान तथा महासचिव निलेन्द्रराज श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए।