उच्च अदालत विराटनगरले कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गर्ने प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
अदालतले आज आदेश जारी गर्दै भनेको छ- निवेदक हंसराज वाग्ले विपक्षी ताहाँ कार्यालय समेत भएको निषेधाज्ञा परमादेश निवेदनमा, यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो? सो आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत खुलाई सो को प्रतिलिपिहरू साथै राखी लिखित जवाफ पेस गर्न ल्याउनु भन्ने यस अदालतको आदेशानुसार निवेदन र आदेशको प्रतिलिपि समेत साथै राखी यो १५ (पन्ध्र) दिने म्याद जारी गरी पठाइएको छ। तसर्थ यो म्याद प्राप्त गरेको मितिले बाटाका म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र मुख्य न्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेस गर्न ल्याउनु होला। सो म्यादभित्र लिखित जवाफ पेस नगरी म्याद गुजारी बसे कानुनबमोजिम हुनेछ। पछि कुनै उजुर लाग्ने छैन।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको थियो।
सदस्यसचिव वाग्लेलाई बर्खास्त गर्नुको मुख्य कारण भने सरकारले कार्यक्रमको ब्यानरमा ‘कोशी प्रदेश किन नलेखेको’ लाई देखाएको छ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्य सचिव वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधेको थियो।
वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते बैंक खातासमेत रोक्का गरेको थियो। दुई पटकको स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई सरकारले हटाएको हो।
नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा वाग्ले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त भएका थिए।