नेपाल फुटबल संघ (एन्फा) की रेफ्री कृति सेन ठकुरी सात वर्षअघिसम्म जुनियर खेलाडीका रूपमा फुटबल मैदानमा दौडिन्थिन्। भविष्यमा राम्रो खेलाडी बन्ने सपना पछ्याउँदै देशका अनेक मैदानमा पुगेर खेलिन्।
२०७३ सालमा खेल मैदानमा लागेको चोटले उनको बाटो बदलिदियो।
कृति एथ्लेटिक्स, कबड्डी, क्रिकेट, फुटबल सबैजसो खेल खेल्थिन्। यी खेलमा उनको दक्षता पनि राम्रो थियो।
कृति थोरै भए पनि समय र मैदान मिल्नासाथ कुनै न कुनै खेल खेल्न पुगिहाल्थिन्। सानैदेखिको रुचि भए पनि बाहिर नदेखिएको उनको क्षमता हेमन्तध्वज श्रेष्ठले जगाइदिएका थिए।
हेमन्त तिलोत्तमा नगरपालिका–३ स्थित बुटवल पब्लिक स्कुलमा खेल प्रशिक्षक थिए। कृति त्यही स्कुलमा विद्यार्थी थिइन्। उनले कक्षा ५ मा पढ्दा खेलकुदमा भाग लिन थालेकी थिइन्। तीव्र दौड क्षमता भएकी कृति फुटबल, दौड र कबड्डीमा भाग लिन्थिन्।
खेल्दै जाँदा विद्यालयबाट प्रतिस्पर्धी भएर क्षेत्रीयस्तरका खेलमा भाग लिन पोखरा पनि पुगिन्। खेलबाट फर्किंदा हातमा शिल्ड र घाँटीमा मेडल छुट्दैथ्यो।
उनको दौड क्षमता देखेर खेलशिक्षक श्रेष्ठले क्रिकेट खेल्न प्रेरित गरेका थिए। त्यो समय क्रिकेटमा बालबालिकाको आकर्षण बढ्दै थियो। शिक्षककै हौसलाले कृति क्रिकेटमा लागिन्।
२०७० सालमा भैरहवामा भएको प्रतियोगितामा भाग लिएर उनी क्षेत्रीय क्रिकेटका लागि छनोट भइन्। त्यही समय खेलशिक्षक श्रेष्ठ विद्यालय छोडेर विदेश गए।
थोरै प्रतियोगितामा सहभागी भएकी कृतिले दुई पटक डकआउट हुँदै ४५ रनको व्यक्तिगत स्कोर बनाएकी थिइन्। आफ्ना खेल शिक्षकले छाडेपछि भर्खरै क्रिकेट सिक्दै गरेकी कृतिको अगाडिको यात्रा अवरुद्ध भयो। उनी फुटबलतिर लागिन्।
‘चारपाँच कक्षादेखि नै हेमन्तसरको प्रोत्साहनले खेलकुदमा लागेकी थिएँ। सर वैदेशिक रोजगारीमा गएपछि क्रिकेट खेलाडी बन्ने मेरो चाहना पूरा भएन,’ उनले भनिन्, 'यसपछि फुटबलको बाटो कोरियो।'
कुनै शनिबार कृति केही साथीहरूसँग खेतमा फुटबल खेल्दै थिइन्। एन्फाका पूर्वसदस्य घनश्याम थापा त्यही बाटो भएर कतै जाँदै थिए। केही बेर अडिएर फुटबल खेलेको हेरे।
स्कुले किशोरीहरूको उत्साह देखेर थापालाई यिनीहरूलाई फुटबल प्रशिक्षण दिन पाए कति राम्रो हुन्थ्यो भन्ने लाग्यो। साँच्चै, उनले ती खेलाडी किशोरीहरूलाई एन्फा मैदानमा बोलाए।
अर्को शनिबार उनीहरू थापाले भनेको ठाउँमा पुगे। फुटबल खेल्ने र प्रतियोगितामा भाग पनि भाग लिने क्रम बढदै गयो।
२०७० सालमै बुटवलको एन्फा एकेडेमीको जुनियर टिमबाट रौतहटमा खेल्दा कृतिले एक गोल गरिन्। त्यही गोलले उनलाई फुटबलमा अघि बढायो। खेल्न सक्छु भन्ने आत्मविश्वास र दृढता दियो।
यसैबीच कृति पश्चिमाञ्चल महिला फुटबलको जुनियर टिममा आबद्ध भइन्।
त्यही टिमबाट मोरङ, काठमाडौं र गैंडाकोटसम्म खेल्न गइन्। ती दिन स्मरण गर्दै उनले भनिन्, ‘प्रतियोगिताबाट फर्कंदा कहिल्यै पनि रित्तो हात भएन। कुनै न कुनै पुरस्कार लिएर नै फर्कन्थें।’
क्रिकेट छोडे पनि कृतिले फुटबलसँगै दौड र कबड्डीमा पनि निरन्तरता दिइन्।
२०७३ सालमा इन्डो–नेपाल कबड्डी प्रतियोगिता भएको थियो। कबड्डी खेल्ने क्रममा घुँडामा चोट लागेर कृति घाइते भइन्। लिगामेन्टमा क्षति पुग्यो।
चिकित्सकले पुरै एक वर्ष आराम गर्न सुझाब दिए।
यही कारणले एक वर्ष उनको खेल गतिविधि मैदानको दर्शकमा सीमित भयो। टिमका खेलाडीहरू मैदानमा खेलिरहँदा उनी चोट बिर्से मैदान पुगिहालौँ भन्ने ठान्थिन्।
खेल सकिएपछि रेफ्रीहरू बसेर त्यसको समीक्षा गर्थे। रेफ्रीहरू रिपेन शाक्य, ज्ञानबहादुर थापा र अशोक गुरुङको समीक्षा बैठकमा कृति पनि सहभागी हुन थालिन्। यसमा उनको चाख बढ्यो।
उनले खेल्नुको तुलनामा खेलाउनुको जिम्मेवारी अझै धेरै रहेछ भन्ने महसुस गरिन्।
‘खेल्दा किन फउल भएँ भन्ने थाहा हुँदैनथ्यो। आफ्नो गल्ती नभई रेफ्रीले कार्ड देखाए भन्ने लाग्थ्यो। आफ्नो गल्ती हामी बुझ्न खोज्दैनथ्यौं,’ कृतिले भनिन्, ‘रेफ्रीहरूको समीक्षा नजिकबाट सुनेपछि मलाई पनि रेफ्री बन्ने इच्छा जाग्यो।’
चोट ठिक हुँदै थियो। कुद्न सक्छु भन्ने विश्वास बढ्दै थियो।
उनले एक दिन एक जना रेफ्रीसँग कुरा गरिन्।
‘मेरो चाहना रेफ्री रिपेनलाई सुनाएँ। उहाँले खेलाउन थालेपछि खेल्न पाइँदैन। नखेल्ने भए रेफ्रीको तालिम लेऊ भन्नुभयो,’ कृतिले सम्झिइन्।
त्यसपछि उनले एन्फा एकेडेमीमा एक हप्ता तालिम लिइन्।
२०७४ सालमा रेफ्रीको तालिम लिएपछि प्रारम्भिक दिनमा उनी लाइनमा बस्न पाइनन्। एक वर्ष जति फोर्थ लाइनमै बसेर अनुभव लिइन्।
सन् २०१९ मा रेफ्रीको ‘ब्याच होल्डर’ बनेपछि लाइन रेफ्री हुँदै सेन्टर रेफ्रीका रूपमा मैदान प्रवेश पाइन्।
यसरी घुँडामा लागेको चोटले दिएको विश्रामले उनको बाटो थोरै बदलियो। कृति खेलाडीबाट २१ वर्षको उमेरमा फुटबल रेफ्री भइन्।
उनले चितवन, काठमाठौं, लमजुङ, सुर्खेत, सिन्धुली लगायतका जिल्लामा राष्ट्रिय लिग, उपमेयर कप लगायतका फुटबल प्रतियोगिता खेलाएकी छन्।
मौका मिले राष्ट्रिय स्तरको खेल खेलाउन सक्ने उनको आत्मविश्वास छ। गत मंसिरमा भएको विश्वकप फुटबलको मैदानमा महिला रेफ्री देखेपछि उनले अन्तर्राष्ट्रिय खेल खेलाउने सपना देख्न थालेकी छन्।
‘विश्वकपको मैदानमा महिला रेफ्री देख्दा मलाई पनि गौरवबोध भएको छ,’ उनी भन्छिन्, ‘विश्वकप खेलाउन पहिलोपटक महिला रेफ्री पुगेको देखेपछि एक दिन म पनि त्यो स्थानमा पुग्छु भन्ने सपना देख्न थालेकी छु।’
कृति रेफ्री बनिसकिन् तर खेलाडी हुनुको जोश भने छँदैछ। फुटबल मैदानमा खेलाडीहरू पछ्याउँदै दौडिरहँदा २५ वर्षीया कृतिलाई आफैँले बल हानौँ जस्तो पनि हुन्छ।
भन्छिन्, ‘बल गोलपोस्टमै पुर्याएर पनि खेलाडीले गोल गर्न चुक्दा थकथकी लाग्छ।’
खेल्नुभन्दा रेफ्री बन्नु कठिन रहेको कृतिको अनुभव छ।
भन्छिन्, ‘खेलाडीले कुनै गल्ती गर्यो भने ऊ र उसको टिमलाई मात्र असर पर्छ। रेफ्रीको गल्तीले सिंगै खेलमा असर पर्छ। मैदानमा रेफ्रीको भूमिका निकै महत्वपूर्ण हुन्छ।’
कहिलेकाहीँ मैदानमा रेफ्रीको पनि गल्ती भइदिन्छ। सानोतिनो गल्ती–कमजोरीले पनि कृतिलाई आत्मग्लानी हुन्छ।
‘सही निर्णय गर्छु भन्दाभन्दै पनि कहिलेकाहीँ गलत हुन जान्छ। त्यस बेला आत्मग्लानी हुन्छ। रातभर निदाउन सक्दिनँ,’ उनी भन्छिन्, ‘मेरो
गल्तीका कारणले खेलाडी र टिमलाई क्षति भयो कि भन्ने लाग्छ। कहिलेकाहीँ नबज्नुपर्ने ठाउँमा पनि सिटी बजिदिन्छ। यस्तोमा पनि पछिसम्म ग्लानी हुन्छ।’
कृतिका अनुसार नेपाली फुटबलमा महिला खेलाडीको संख्या बढ्दै जाँदा महिला रेफ्रीको संख्या पनि बढ्न थालेको छ।
कृति लुम्बिनी प्रदेशको पहिलो महिला रेफ्री हुन्। उनी रुपन्देहीका फुटबल अग्रजहरूलाई नै आफ्नो पथप्रदर्शक मान्छिन्।
भन्छिन्, ‘मेरो क्षमता चिनेर खेलकुदमा लगाएको यहीँ (बुटवल) का दाइहरूले हो। घुँडामा चोट लागेका बेला दाइहरूले सहयोग नगरेको भए शायद म फुटबलबाटै हराउँथे। अहिले रेफ्री भएर खेलमा जोडिन पाएकी छु।’
भारतीय सेनाबाट सेवानिवृत्त बुबा गणेशप्रताप सेन र आमा हरिकुमारी सेनका पाँच छोरीमध्ये कान्छी हुन् कृति।
उनी खेलकुदमा लाग्नुमा बुबाआमा, दिदी र दाजुको सहयोग र प्रोत्साहन छ। उनकी एक दिदी इन्द्रा रुपन्देहीको महिला फुटबलको टिम क्याप्टेन थिइन्।
कृतिका लागि खेलकुद जीवनको अभिन्न पाटो हो। खेल गतिविधि सुस्ताउँदा खेलाडी र रेफ्री दुबैलाई असर पर्छ तैपनि उनी खेल क्षेत्रबाट पछि हट्न चाहन्नन्।
‘अहिले फुटबल लिगहरू हुन सकेका छैनन्। कोभिडको बेला दुई वर्ष त खेल क्षेत्र नै ठप्प भयो,’ उनी भन्छिन्, ‘अहिले टुर्नामेन्टहरूले रेफ्रीहरूलाई धानेका छन्। लिगहरू नियमित हुन सकेनन् भने खेलाडी र रेफ्री दुबैलाई मर्का पर्छ।’
खेलमा कम्मर कसेर लाग्दालाग्दै पनि कहिलेकाहीँ चित्त दुख्ने घटनाहरू पनि हुन्छन्। गत चैतमा बुटवलमा भएको बाइसौँ तिलोत्तमा गोल्डकपमा नाम समावेश भए पनि कृतिले रेफ्री बन्ने मौका पाइनन्। यसमा उनलाई अलिकति चित्त दुखेको छ।
उनले भनिन्, ‘सिनियर रेफ्रीहरू भएपछि राष्ट्रियस्तरका खेलमा महिला रेफ्रीले कमै मौका पाउँछन्।’
देशको नाम चम्काउने खेलाडीहरूलाई सरकारले समुचित सहयोग नगरेकोमा पनि उनको दुखेसो छ।
भन्छिन्, ‘विभागीय टिममा भएका खेलाडीहरूलाई तलब सुविधा भए पनि क्लबका खेलाडीहरूलाई आर्थिक सहयोग छैन। वर्षमा आठ–दस वटा खेल खेलेर कसरी बाँच्न मुक्लि पर्छ।’
जस्तोसुकै अवस्थामा पनि खेल क्षेत्रबाट बाहिर नहुने कृतिको दृढता छ।