नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ।
नेपालले यू-१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जनाएका छन्।
भारतको अरुणाञ्चल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो। सो स्पर्धामा नेपालसहित ४ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।
नेपालले बंगलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो।
श्रीलंकासँग भने नेपाल ३–१ ले चुक्यो। नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए।
अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यका अनुसार युथको कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो पटक स्वर्ण जितेको हो।