क्रिकेटका राष्ट्रिय खेलाडी करण केसी र फुटबलकी सावित्रा भण्डारीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरा स्पोर्टस् अवार्ड समारोहमार्फत उक्त अवार्ड प्रदान गरिएको हो।
बागलुङका केसी नेपालको राष्ट्रिय टिमबाट क्रिकेट खेल्छन्। पुरुषतर्फ आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का पनि उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा परेका थिए। उनीहरू दुबै जनालाई पछि पार्दै केसीले अवार्ड जितेका हुन्।
यस्तै लमजुङकी भण्डारी महिला फुटबलमा राष्ट्रिय टिमकी स्ट्राइकर हुन्। उनले वर्ष उत्कृष्ट महिला खेलाडीमा भण्डारीसँगै आर्चरीकी रोजिना थापामगर र तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा परेकी थिइन्। उनीहरू दुबैलाई भण्डारीले पछि पारेर अवार्ड जित्न सफल भएकी हुन्।
समारोहमा उदीयमान खेलाडी अवार्ड क्रिकेटका सुवास भण्डारीले पाएका छन्। नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ उडाउने क्रममा दुर्घटनामा परेर निधन भएका खेलाडी निसिम थापालाई मञ्चले कीर्तिशेष सम्मान प्रदान गरेको छ।
नवौं खेलकुदमा प्याराग्लाइडिङतर्फ नेपाली सेनाका खेलाडी थापा गत असोज ३० गते सराङकोटबाट प्याराग्लाइडिङ उडाउने क्रममा दुर्घटनामा परेका थिए।
थापाले पाएको कीर्तिशेष सम्मान उनका आमाले ग्रहण गरेकी थिइन्। महिलातर्फ वर्ष खेलाडी बनेकी फुटबल स्ट्राइकर भण्डारी अहिले भारतमा भएकाले उनका दाजुले अवार्ड ग्रहण गरेका थिए। अन्य खेलाडी भने समारोहमा उपस्थित थिए।
खेलाडीलाई प्रोत्साहन दिनका लागि विगत सात वर्षदेखि पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले बताए। उनका अनुसार मञ्चले गण्डकी प्रदेशका उत्कृष्ट खेलाडीलाई मनोनयन गरेर अवार्ड प्रदान हो।