थाइल्यान्डको बैंककमा हुने १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
फागुन २८ देखि चैत ६ गतेसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल, ५४ केजीमा पुर्णजित राई, ७१ केजीमा नवराज पराजुली र ५१ केजीमा सञ्जय राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
महिला ४८ केजीमा डेनिका राईले खेल्ने छिन् ।
प्रशिक्षकमा गणेशलाल कक्षपति तथा व्यवस्थापकमा निलम अधिकारी छन्।
गुणराज, पुर्णजित र नवराज प्रशिक्षणमा पनि सहभागी हुने भएकाले बुधबारै बैंकक प्रस्थान गरिसकेका छन्। बाँकी टोली पछि जाने छ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे।
विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघले जनाएको छ।