एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रमअनुसार नेपाल एथ्लेटिक्स संघको आयोजनामा फागुन २३ गते नेपालमा १६औं एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुने भएको छ।
उकालो,ओरालो र कच्ची सडकलाई समेटेर तयार पारिएको कोर्षमा संचालन हुने यस प्रकारको प्रतियोगिता २४ वर्ष अगाडि सन् १९९९ मा नेपालले आयोजना भएको थियो।
दोश्रो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालसहित एसियाका ४० बढी देशका ४५० जना धावकसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक गरी प्रत्यक्ष रुपमा करिब ६५० जनाको सहभागिता रहनेछ।
काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट परिसरमा हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किमी, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किमी र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किमी गरी कुल ४ विधामा व्यक्तिगत र टिम इभेन्टसमा प्रतिष्पर्धा हुनेछ।
प्रतियोगिताको अनुमानित बजेट तीन करोड ६५ लाख ५५ हजार रुपैयाँ रहेको नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवबिक्रम शाहले जनाएका छन्।