अल्ट्रा ट्रेल धावक मिरा राईको संस्था मिरा राई इनिसिएटिभ्सले स्तुपा टु स्तुपा रेस गर्ने भएको छ। आगामी फागुन ६ गते हुने रेस काठमाडौंको स्वयम्भूनाथ स्तुपाबाट सुरु भएर बौद्धनाथ स्तुपामा सकिनेछ।
यो रेसको कोर्ष (मार्ग) जमाचो चोकको अग्लो स्थानदेखि मुडखुहुँदै शिवपुरीबाट बौद्धसम्म रहेको छ।
प्रतियोगितामा अनलाइन प्रणालीमार्फत् नाम दर्ता गराएका १६ देशका २५० जना धावकको सहभागिता रहने आयोजकको भनाइ छ।
दुई विधामा रेस सञ्चालन हुनेछ। ५४ किमीको स्तुपा टु स्तुपा (महिला तथा पुरुष) तथा २१ किमीको स्तुपा टु स्तुपा (महिला तथा पुरुष) रेसमा प्रतिस्पर्धा हुनेछ।
४ जना रेस कोर्ष डिजाइनर, ५ जना रेस कोर्ष मार्कर, १४ जना रेस टाईमिङ पर्सन तथा १४ जना सर्विस पर्सनको प्रत्यक्ष निगरानी एवम् रेफ्री तथा अफिसियको रोहवरमा रेस प्रतियोगिता सञ्चालन हुनेछ।
५४ किमीको स्तुपा टु स्तुपा (महिला तथा पुरुष) रेसको विजेतालाई नगद ४० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। चौथो र पाँचौ हुनेलाई ५ हजार र ३ हजार रुपैयाँ दिइनेछ।
२१ किमीको विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ दिइनेछ। यस्तै चौथोलाई ५ हजार र पाँचौ हुनेलाई ३ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
कार्यक्रममा धावक राईले युवा धावकलाई प्रोत्साहन गर्न र नेपालमा ट्रायल दौडलाई विकास गर्न प्रतियोगिता आयोजना गरेको बताइन्।