नोभाक जोकोभिचले स्टेफनस सिसिपासलाई हराउँदै कीर्तिमानी १०औं अस्ट्रेलियन ओपन तथा २२औं ग्रान्डस्लाम टेनिसको उपाधि जितेका छन्।
आइतबार मेलवर्नमा भएको पुरुष एकलतर्फको उपाधि भिडन्तमा जित हात पारेसँगै जोकोभिचले स्पेनिस टेनिस स्टार राफायल नाडालको २२औं ग्रान्डस्लाम जित्ने कीर्तिमान पनि बराबरी गरेका छन्।
सर्बियाका जोकोभिचले ६-३, ७-६ (७-४) र ७-६ (७-५) को जित निकाले।
नाडालसँग उपाधि बराबरी गरेसँगै ३५ वर्षीय जोकोभिच विश्व नम्बर एक वरीयतामा फर्किनेछन्।
ग्रीसका २४ वर्षीय सिसिपासले पहिलो ग्रान्डस्लाम जित्न अझै कुर्न पर्ने भएको छ।
जितपछि जोकोभिचले भने, ‘गत वर्ष नखेले पनि यस वर्ष फर्केर आउने परिस्थितिलाई ध्यानमा राख्दै यो मेरो जीवनमा खेलेको सबैभन्दा चुनौतीपूर्ण प्रतियोगिता हो भन्न चाहन्छु। म भन्न चाहन्छु कि यो मेरो जीवनको सबैभन्दा ठूलो जित हो।’
गत वर्ष कोभिड-१९ खोपको विवाद भएपछि जोकोभिचलाई स्वेदश फर्काइएको थियो।