कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार निर्माणको सुरसार गरेको छ।
गण्डकी प्रदेशमा गत असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा दसौं प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो।
सोही अनुसार कर्णाली प्रदेश सरकारलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको थियो। नवौं प्रतियोगिता हुनुअघि नै कर्णाली प्रदेश सरकारले दसौं प्रतियोगिता कर्णालीमा गर्ने निर्णय गरेको थियो।
कर्णाली प्रदेश सरकारले राजधानी सुर्खेतमा प्रदेशस्तरीय रंगशालाबाहेक अरू संरचना निर्माण सुरू गरेको छैन।
राष्ट्रिय प्रतियोगिता भएकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) वा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पूर्वाधार निर्माणका लागि स्रोत सुनिश्चितता गरिदिऊन् भन्ने अपेक्षा प्रदेश सरकारको छ।
सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगितामा आठ हजारसम्म पाहुना आउने अनुमान कर्णाली प्रदेश खेलकुद परिषदको छ।
यति धेरैको उपस्थिति हुँदा खेलकुदका पूर्वाधार मात्र होइन, आवास व्यवस्थापनको समेत चुनौती छ। त्यति धेरै पाहुनाका लागि सुर्खेतमा अहिले पनि सुविधायुक्त होटल छैनन्।
केही दिनअघि सुर्खेतमै भएको नेपाल पत्रकार महासंघको वार्षिक साधारण सभामा ९ सय जना सहभागी सुर्खेत आएका थिए। तीमध्ये ८५० जना होटलमा बसेका थिए।
‘हामीले डी ग्रेडसम्मका होटलमा कोठा बुक गरेका थियौं, त्यहाँ ८५० जना बस्नुभयो,’ आयोजक संस्थाका एक सदस्यले भने, ‘हामीले अनुमान गरेभन्दा बढी सहभागिता भयो, अंग्रेजी नयाँ वर्ष पनि भएकाले होटलका केही कोठा बुक गरिएका रहेछन्। केही पाहुनालाई सरकारी निवासमा पनि राख्नुपर्यो।’
दसौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ सम्म गर्ने योजना छ। यस हिसाबले अब दुई वर्ष समय छ।
यस अवधिमा कति पूर्वाधार बन्छ भन्नेमा प्रदेश खेलकुद परिषद नै अन्योलमा छ। रंगशाला बाहेकका अरू खेलकुद संरचनामा प्रदेश सरकारले कति लगानी गर्छ भन्ने पनि प्रष्ट छैन।
कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव विश्वमित्र सञ्जेल भन्छन्, ‘अहिलेको सरकारले कर्णालीमा खेलकुद पूर्वाधारका लागि बजेटको अभाव हुन दिन्नौं भनेको छ। हामी नयाँ नेतृत्वप्रति पनि आशावादी पनि छौं।’
संघीय सरकारको मातहतमा रहेको राखेपको नियमावलीमै राष्ट्रिय खेलकुदका लागि प्रत्येक प्रदेशमा सुविधासम्पन्न रंगशाला बनाउने भनिएको छ। यो कुरा हरेक वर्षको नीति तथा कार्यक्रममा दोहोरिने गरेको छ।
सदस्यसचिव सञ्जेल राखेपको नियमावली अनुसार कर्णाली प्रदेशमा अहिलेसम्म रंगशाला नबनेका कारण राष्ट्रिय खेलकुदको कुनै पनि गतिविधि नभएको बताउँछन्।
उनले प्रदेश सरकारले प्रदेशस्तरका खेलकुदका लागि मात्र पूर्वाधारमा वा अन्य लगानी गर्ने कानुनी व्यवस्था रहेको र राष्ट्रिय खेलकुदको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालय वा मातहतको राखेपको हुने बताए।
‘प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने गरी गौरवको आयोजनाअन्तर्गत रंगशाला बनाउन थालेकाले परिषदले पनि कर्णालीमा दसौं प्रतियोगिता गर्ने निर्णय गरेको हो,’ उनले भने।
उनका अनुसार अहिलेसम्म राखेपबाट एक करोड रुपैयाँ कर्णाली प्रदेश खेलकुद परिषदलाई आएको छ। उक्त बजेटबाट वीरेन्द्रनगरस्थित कालिञ्चोकमा रहेको क्रिकेट मैदान स्तरोन्नति गर्ने काम हुँदैछ।
रंगशाला बाहेकका थप खेलकुदका पूर्वाधार बनाउने विषयमा प्रदेश खेलकुद परिषदले अध्ययन गरेर राखेपलाई प्रस्ताव गरिएको सदस्य सचिव सञ्जेलले बताए।
राष्ट्रिय खेलकुदको पूर्वाधारका लागि प्रदेशले गरेको प्रस्तावमा लगभग डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
‘ती पूर्वाधार बनाउने कुरा प्रदेश वा संघ जसले गरे पनि स्रोत सुनिश्चितता राखेप र सम्बन्धित संघीय मन्त्रालयलये गरोस् भन्ने हाम्रो प्रस्ताव हो,’उनले भने।
राखेपले प्रदेशबाट आएका प्रस्तावका बारेमा यही बुधबार निर्णय गर्ने भएको छ। त्यसैदिन बैठकमा प्रदेशको प्रस्ताव पनि विस्तृतमा पेश हुनेछ।
‘हामी यो विषयमा बुधबार बैठक बस्दैछौं, त्यसैबाट निर्णय हुन्छ,’ राखेपका कार्यकारी बोर्ड सदस्य नन्दा बस्यालले भनिन्, ‘प्रदेशको पनि विस्तृत प्रस्ताव त्यही बैठकमा आउँछ।’
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्न कति सम्भव छ?
बस्यालले भनिन्, ‘केन्द्रले मात्र चाहेर हुँदैन, त्यहाँ पनि खेलकुद परिषद छ। सबै सरकारी, गैरसरकारी र निजी सरोकारवालाहरू पनि कर्णालीमा यो प्रतियोगिता गर्नै पर्छ भनेर लाग्ने हो भने असम्भव छैन।’
कर्णाली प्रदेश खेलकुद परिषदले हाललाई पूर्वाधार निर्माणका लागि प्रस्ताव गर्दा धेरैजसो मर्मत र केही नयाँ निर्माण समेटेको छ।
प्रदेश खेलकुद परिषदको अध्ययनमा दसौं राष्ट्रिय खेलकुदका लागि हुम्लामा कभर्ड हल र हक्की मैदान निर्माण गर्नुपर्नेछ।
मुगुमा कभर्ड हल र साइक्लिङ ट्र्याक, हुम्लामा रुग्बी मैदान र कभर्ड हल, कालीकोटमा भलिबलका लागि कभर्ड हल निर्माण गर्नुपर्नेछ। दैलेखमा कर्भड हल मर्मत, कबड्डीका लागि खेल मैदान, रूकुम पश्चिममा कभर्ड हल मर्मत, जाजरकोट, डोल्पा र सल्यानमा नयाँ कर्भड हल निर्माण गर्नुपर्नेछ।
सुर्खेतको मेहलकुना, छिन्चु, बाबियाचौर र बड्डीचौरमा नयाँ चार वटा कभर्ड हल बनाउने प्रस्ताव प्रदेश खेलकुद परिषदले राखेपलाई गरेको छ।
वीरेन्द्रनगरको चिसापानी मैदान निर्माण सम्पन्न गर्ने प्रस्ताव पनि गरिएको छ।
सुर्खेतमा आवासीय पूर्वाधार केही बढी भएकाले खेलकुदका संरचना पनि थप गर्ने प्रस्ताव गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव सञ्जेलले बताए।
विभिन्न जिल्लाका विद्यालय लगायतका खेलकुद संरचना अन्य सार्वजनिक निकायका संरचना अभ्यास खेलका लागि मर्मतसम्भार गर्ने प्रस्ताव गरिएको छ।
‘राष्ट्रिय खेलकुद परिषदले पनि कर्णालीमा दसौं प्रतियोगिता गर्ने निर्णय गरिसकेको अवस्थामा हामी पछि हट्नु हुँदैन। मिति सार्ने कुरा पनि राम्रो हुँदैन,’ सदस्य सचिव सञ्जेलले भने, ‘कर्णालीमा राष्ट्रिय खेलकुद गर्न चुनौतीहरू थुप्रै छन्। हामी चुनौती सामना गर्दै विभिन्नि क्षेत्रसँग समन्वय गरेर प्रतियोगिता गर्न लागिपरेका छौं।’
सुर्खेतमा बन्दै गरेको रंगशालाको अतिरिक्त अरू जिल्लामा पनि दीगो रूपमा सञ्चालन हुने पूर्वाधारमात्र बनाउने भनिएको छ।
राष्ट्रिय खेलकुदकै लागि भनेर बनाइएका थुप्रै पूर्वाधार भविष्यमा उपयोग गर्न नसक्दा लगानी खेर जाने भएकाले उक्त योजना बनाइएको जनाइएको छ।
‘कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा गर्दा आवासको पनि चुनौती छ, सुर्खेतमा मात्र हामीले बाहिरबाट आउने खेलाडी, प्रशिक्षक लगायतका पाहुना राख्न मुस्किल हुन्छ,’ उनले भने, ‘कतिपय खेल पूर्वाधार भएका जिल्ला सदरमुकाम र सुर्खेतमै पनि वीरेन्द्रनगरभन्दा वरपर गरायौं भने धेरै समस्या हुँदैन।’
नवौं राष्ट्रिय खेलकुदसहित दुईपटक राष्ट्रिय प्रतियोगिता गराएको पोखराको तुलनामा सुर्खेत हरेक पूर्वाधारका हिसाबले पछाडि रहेको सञ्जेलको भनाइ छ।
कर्णालीमा हुने भनिएको दसौं प्रतियोगितामा नवौंको भन्दा केही खेल घटाएर सञ्चालन गर्ने प्रस्ताव गर्ने योजना कर्णाली प्रदेश खेलकुद परिषदको छ।
अहिले वीरेन्द्रनगरमा बन्दै गरेको रंगशाला समयमै निर्माण सम्पन्न हुने कुरामा भने प्रदेश खेलकुद परिषदलाई शंका छैन।
उनले भने, ‘समय अगावै बन्ने कुरा भएको छ। हामीले निर्माण कम्पनीसँग सम्झौता गर्दा अगावै बनाए बोनस पाउने र नबनाए मूल्यवृद्धि नगर्ने गरी सम्झौता गरेको हुनाले यसमा ढुक्क छौं।’
कर्णाली प्रदेश सरकारको लगानीमा राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै यसअघि रंगशालाकै रूपमा प्रयोग भएको ठाउँमा प्रदेशस्तरीय रंगशाला निर्माणको काम हुँदैछ।
कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँमा सम्झौता गरी नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित ‘एमएसीजीएसएल जोइन्टभेन्चर’ कम्पनीले काम गरिरहेको छ।
२०७८ कात्तिक २७ गते भएको सम्झौता अनुसार २०८१ वैशाख ११ गतेभित्र निर्माण सम्पन्न गरी कम्पनीले सरकारलाई हस्तान्तरण गरिसक्नुपर्नेछ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव सञ्जेलका अनुसार मंसिर २३ गतेसम्म रंगशाला निर्माणको प्रगति ३२ प्रतिशत भएको छ।
निर्माणाधीन रंगशालाभित्र फिफा स्ट्यान्डर्डको फुटबल मैदान बन्नेछ। उक्त मैदानमा पानी छर्किने आधुनिक व्यवस्था रहनेछ।
आइएएफ स्ट्यान्डर्डको सेन्थेटिक एथलेटिक्स ट्र्याक निर्माण गरिनेछ। उक्त ट्र्याक आठ लेनको हुनेछ। दस हजार दर्शक अट्ने भूकम्प प्रतिरोधी प्यारापिट, दुई तलाको भिआइपी प्यारापिट निर्माण हुनेछन्। खेलाडीका लागि चेन्जिङ रूम, शौचालय, सावर, मिक्स जोनसँगै मिडिया रूम, क्यान्टिन, रेफ्री रूम, मेडिकल रूम, फिजियोथेरापी रूम, भिआइपी वेटिङ तथा रिफ्रेस रूम निर्माण गर्ने डिजाइन छ।
टेलिभिजनका लागि लाइभ ब्रोडकास्ट प्लेटफर्म पनि निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको छ।
अन्डरग्राउन्ड पार्किङसहितको रंगशाला अपांगता भएका व्यक्तिका लागि पनि अनुकूल हुनेछ।
‘खासमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि कर्णालीमै गर्ने हाम्रो योजना थियो, हामीसँग पूर्वाधार नभएकोले आँट गरेनौं,’ सञ्जेलले भने, ‘दसौंको निर्णय भइसकेको छ, यो रंगशाला बन्छ। अरू पूर्वाधार समयमै बन्न सके सञ्चालन गर्ने मिति सार्नु पर्दैन।’
कर्णाली प्रदेशमा प्रदेश गौरवको आयोजनाभित्र पारेर राष्ट्रिय खेलकुद गर्न सक्ने गरी प्रदेशस्तरीय रंगशाला बनाउने निर्णय कर्णाली प्रदेश खेलकुद परिषदको पहिलो बैठकले गरेको थियो।
२०७८ असार १६ गतेको प्रदेश मन्त्रिपरिषदको बैठकको निर्णयबाट असार ३१ गते यसका लागि बोलपत्र आह्वान गरिएको थियो।
रंगशालाभित्र २५ वर्गमिटरको स्वीमिङ पुल हुनेछ। भलिबल र ह्यान्डबल खेल्न मिल्ने गरी १ हजार ५०० जना दर्शक क्षमताको बहुउद्देश्यीय कभर्ड हल, भलिबल, ह्यान्डबल र बास्केट बल आउटडोर कोर्ट पनि हुनेछन्।
व्यापारिक तथा सुरक्षा प्रयोजनका लागि ४० वटा सर्टर भएको कम्पाउन्ड वाल, सार्वजनिक शौचालय र पार्किङ स्थल पनि बन्नेछन्।