एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष/महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभाष उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट भए।
नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी संगिता राई र आर्मीकी मनीषा रानाभाट, ५५ केजीमा बाँकेकी सन्जु चौधरी, ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिए।
प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष÷महिलामा ७–७ गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बने। पुरुषमा विकास भट्टले १, विशालसिंह विष्टले २, सुभाष उपाध्यायले ३ र सागर भण्डारीले १ कीर्तिमान बनाए। महिलामा सन्जु चौधरीले १ तथा तारादेवी पुन र विद्या राईले समान ३ राष्ट्रिय कीर्तिमान रचे।
कुस्ती
कुस्तीमा ७ पुरुष र ८ महिला गरी १५ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक समेत रहेका कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेतले जनाएका छन्।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताको पुरुष ८६ केजीमा आर्मीका आदित्यराज यादव, प्रहरीका दीपेश राउत कंकर र आर्मीका वीरेन्द्रसिंह साउद तथा ७४ केजीमा आर्मीका सुरेश चुनारा, प्रहरीका गंगाराम चमार, बाँकेका फजिल राउत अहिर र प्रहरीका धर्मेन्द्रप्रसाद यादव सफल भए।
महिला ६२ केजीमा आर्मीकी सुशिला चन्द, आर्मीकै निर्मला जागरी, कञ्चनपुरका कोमल खत्री र विमला सुनार तथा ५७ केजीमा आर्मीकी शिवाङ्गी दुवे, एपीएफकी अम्बिका भण्डारी, कञ्चनपुरकी मनीषा सिंह र आर्मीकी लक्ष्मी तामाङ पहिलो चरणमा प्रवेश गरे। एकदिने छनोट प्रतियोगिताको पुरुषमा ८ र महिलामा १२ गरी २० खेलाडीले प्रतिस्पर्धा गरेको संयोजक बस्नेतले जनाएका छन्।