नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी आन्दोलन क्रममा यतिका जनधनको क्षति भए पनि त्यसबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले आजसम्म पश्चाताप नगरेको बताएका छन्।
बिहीबार चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले भदौ २३ गते गम्भीर सुरक्षा लापरवाही घटनाको मुख्य कारक बताउँदै सरकारको भूमिकाको आलोचना गरेका हुन्।
'युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो,' उनले भने।
त्यतिबेला कमजोरी गरेको भए पनि ओलीले अहिलेसम्म कुनै पश्चाताप नगरेको संयोजक प्रचण्डले बताए।
'उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर आज पनि कुनै पश्चाताप छैन,' उनले भने।
संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताए।
'राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय, सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन्,' उनले भने।
उनले संसद पुनःस्थापनाको एजेन्डा गौण बनिसकेको पनि बताए। एमालेबाहेकका दलहरू निर्वाचनमा जान सहमत भइसकेको बताउँदै प्रचण्डले एमाले पनि ढिलोचाँडो चुनावमा जाने निर्णय गर्ने बताए।
पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए।
उनले स्पष्ट पारे, 'समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुन्छ । त्यो घोषणा केही दिनभित्र हुनेछ । हाम्रो एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो।'