काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आफ्ना कर्मचारीको मनोबल बढाउन विभिन्न कार्यक्रम गरिरहेको छ।
भदौ २४ गतेको आन्दोलन क्रममा ट्राफिक प्रहरीमाथि पनि कुटपिट भएको थियो। कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए। यसबाट ट्राफिक प्रहरी कर्मचारीहरूमा बढेको निराशा हटाउँदै उनीहरुको मनोबल बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार कार्यालयकै कक्षमा ट्राफिक प्रहरीबीच अन्तरक्रिया, बिफ्रिङ गर्ने, एकआपसमा छलफल गराउने गरिँदै आएको छ।
पछिल्लो समय फिल्म देखाउ लैजाने र पदयात्रा (हाइकिङ) लैजाने गरिएको पनि एसपी सुवेदीले जानकारी दिए।
'फ्रन्टलाइनमा बसेर काम गर्ने ट्राफिक प्रहरी देशको सबैभन्दा मुख्य अंग हो। यस्ता घटनाले कमजोर हुनुहुँदैन भन्ने गरेका छौं,' एसपी सुवेदीले भने, 'सडकमा धुलो उड्दा, झगडा गर्दा, भीडभाड हुँदा लगायतका धेरै काममा ट्राफिक प्रहरीमाथि नै आक्रोश पोखिन्छ। ढुंगा हानिन्छ, कुटपिट गरिन्छ। जुनसुकै घटनामा पनि पहिला प्रहरीमाथि नै तेर्साइन्छ।'
हरेक पटक ट्राफिकहरूको गल्ती हुँदैन। सर्वसाधारणमा आक्रोश छ। तर पनि आफ्नो दायित्व पूरा गर्नुपर्छ भनेर काममा लागिरहने उनले बताए।
तर भदौ २४ गतेको घटनाले फरक रूप लियो। प्रदर्शनकारीहरू ट्राफिक प्रहरीमाथि नै जाइलागे। त्यसले कामप्रतिको प्रतिबद्धता र मनोबल केही कमजोर भएको उनी बताउँछन्।
त्यसैले विभिन्न कार्यक्रमहरू राखिएको एसपी सुवेदीले बताए।
उनका अनुसार कर्मचारी काममा फर्किएसँगै ५०/६० जनाको समूह बनाएर फिल्म हेर्न पनि लगिएको थियो।
'बिहीबार पनि माइतीघर, मोहरलगायतका नेपाली फिल्म हेर्न लैजाने तयारी भएको एसपी सुवेदीले जानकारी दिए। त्यसका लागि हल सञ्चालकसँग सहकार्य गरेर उपत्यकाको विभिन्न हलहरूमा लैजाने काम भइरेको उनले बताए।
'कामलाई हानि नपुग्ने गरेर बिहान वा रातिको समयमा फिल्म हेर्न लगिरहेका छौं,' उनले भने, 'आउने शुक्रबार घ्याम्पे डाँडामा हाइकिङ जाने तयारी गरेका छौं।'
हाइकिङ पनि ५०/६० जानको समूहमा जाने, घुम्ने, एकआपसमा आफ्ना कुरा सेयर गर्ने, आफ्नो कर्तव्यप्रति अझै सशक्त र जिम्मेवार बनाउने लक्ष्य हो।
त्यही अनुसारले पहिलो पटक सामूहिक रूपमा हाइकिङ लैजाने तयारी भइरहेको उनले जानकारी दिए। यसरी नै विभिन्न कार्यक्रमहरू तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरेर ट्राफिक प्रहरीलाई सशक्त बनाउदै जाने ट्राफिक कार्यालयको भनाइ छ।
'ट्राफिक प्रहरी सशक्त भयो भने सर्वसाधरण सुरक्षित हुन्छन् भन्ने विश्वास छ हामी त्यसलाई टिकाइरहने प्रयास गरिरहेका छौं,' उनले भने।