२७ वर्षीय शिरी (नाम परिवर्तन) दसैं मनाएर काठमाडौं फर्किनेबित्तिकै सोमबार साथीहरूसँग बुढानिलकण्ठ घुम्न गए।
पहिले यसरी बाइकमा घुम्न जाँदा उनीहरू मदिरा सेवन गर्दैन थिए। बाटोमा 'मापसे' (मादकपदार्थ सेवन) परीक्षणमा परिन्छ भन्ने डर हुन्थ्यो।
यसपालि भने शिरी र उनका साथीहरूले बुढानिलकण्ठको एउटा रेस्टुरेन्टमा बसेर साँझ अबेरसम्मै रक्सी पिए।
कारण — भदौ २३ र २४ को घटनापछि काठमाडौंमा ट्राफिक चेकिङ लगभग बन्द छ र दसैंमा समेत मापसे परीक्षण छैन भन्ने उनीहरूलाई थाहा थियो।
नभन्दै राति १० बजेतिर बुढानिलकण्ठबाट लाजिम्पाट आउँदा पनि उनीहरू कहीँकतै ट्राफिक चेकिङमा परेनन्।
'पहिले त पार्टीमा जाँदा पनि मापसेमा परिन्छ भनेर एक थोपा मुखमा नहाली आइन्थ्यो। यसपालि बुढानिलकण्ठसम्म पुगेर मापसे गरियो र त्यहाँदेखि बाइक चलाएर आइयो,' उनले भने, 'मापसे गरेर सवारी चलाउन हुँदैन भन्ने थाहा छ। तर चेकिङ हुँदैन भनेपछि आफूलाई रोक्नै सकिएन।'
हुन त मापसे गरेर सवारी नचलाउनु ट्राफिक प्रहरीलाई खुसी पार्न होइन, आफ्नै ज्यानको सुरक्षाका लागि हो। तर जेन–जी आन्दोलनपछि ट्राफिक चेकिङ नभएको फाइदा शिरी र उनका साथीहरूले मात्र होइन, धेरैले उठाए।
भदौ २३ र २४ को घटनाले प्रहरीको मनोबल घट्नु र युनिफर्महरू जलाइनुले काठमाडौंका सडकमा दसैंभरि नै ट्राफिक प्रहरीको उपस्थिति एकदमै कम देखियो। त्यसमाथि मापसे परीक्षणमा प्रयोग हुने उपकरणसमेत ठूलो संख्यामा नष्ट हुँदा कहीँ पनि रोकतोक भएको पाइएन।
तर दसैंमा मापसे परीक्षण नभएको फाइदा उठाउनेहरूले तिहारमा पनि यस्तै गर्ने सोचेका छन् भने खबरदार!
अब तपाईंहरू कहीँ पनि मापसे परीक्षणमा पर्न सक्नुहुन्छ।
जेन–जी आन्दोलनपछि सुस्ताएको ट्राफिक चेकिङलाई यो साताबाट फेरि सक्रिय बनाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताएका छन्।
'दसैंपछि काठमाडौं उपत्यकामा चहलपहल हुन थालेसँगै ट्राफिक प्रहरीहरू आफ्नो ड्युटीमा फर्किसकेका छन्,' उनले भने, 'सडकमा ट्राफिकहरू छैनन् र चेकिङ पनि हुँदैन भन्ने सोचेर जथाभाबी नगर्नुहोला।'
भदौ २४ को घटनामा प्रदर्शनकारीहरूले ट्राफिक कार्यालयमा समेत हमला गरी युनिफर्मदेखि अन्य आवश्यक सामग्रीमा आगजानी र तोडफोड गरेका थिए। कतिपय सामग्री लुटेर पनि लगे।
युनिफर्महरू जलाइएको त्यो अवस्थामा कतिपय महत्त्वपूर्ण ठाउँमा सादा पोसाकमै ट्राफिक प्रहरीलाई ड्युटीमा खटाइएको एसपी सुवेदीले बताए।
'हामी आन्दोलनको दोस्रो–तेस्रो दिनदेखि नै काममा फर्किसकेका थियौं,' उनले भने, 'युनिफर्म र आवश्यक सामग्री पर्याप्त नहुँदा पनि ड्युटी पूरा गर्यौं।'
त्यसबीच काठमाडौं उपत्यकामा सामान्यभन्दा कम ट्राफिक परिचालन भए पनि अहिले पुरानै लयमा फर्किसकेको उनले बताए।
एसपी सुवेदीका अनुसार अहिले उपत्यकामा दैनिक १ हजार ६ सयभन्दा बढी ट्राफिक परिचालन भइरहेका छन्। आन्दोलन अघिजस्तै मापसे, लेन क्रस र तीव्र गतिका सवारी साधनलाई कारबाही तीव्र पारिएको छ।
त्यसो भए के आन्दोलन बेला नष्ट भएका युनिफर्म र अन्य सामग्रीको बन्दोबस्त भइसक्यो त?
हाम्रो यो प्रश्नमा उनले भने, 'चाहिनेजति सबै सामग्री जुटिसकेका छैनन्। तर हामी सामान जुटाउँदै नियमित ड्युटीमा फर्किरहेका छौं।'
मापसे चेकिङकै कुरा गर्ने हो भने पहिले यसका लागि २५७ वटा 'ब्रेथलाइजर' प्रयोग गरिन्थ्यो। त्यसमध्ये २०१ वटा आन्दोलनमा जले वा लुटिए। कति जले, कति लुटिए त्यसको यकिन विवरण छैन। अहिले बाँकी रहेका ५६ वटा ब्रेथलाइजरबाट भए पनि मापसे चेकिङ सुरू गरिएको एसपी सुवेदीले बताए।
'काठमाडौं उपत्यकाभरि मापसे चेकिङ गर्न ५६ वटा ब्रेथलाइजर पर्याप्त होइन। त्यसैले आवश्यकता अनुसार बाँडेर वा एक ठाउँबाट अर्को ठाउँमा लैजाने र ल्याउने गर्दै काम गरिरहेका छौं,' उनले भने, 'आवश्यक सामान छैन भनेर ट्राफिक प्रहरी आफ्नो जिम्मेवारीबाट पछि हटेको छैन।'
मंगलबार नै मापसेमा ६७ र अन्य ट्राफिक नियम उल्लंघनमा ४० जना कारबाहीमा परेको उनले जानकारी दिए। पछिल्लो एक सातादेखि कारबाहीको यो दर लगभग यही हाराहारी छ।
आन्दोलनपछि खासगरी मनलाग्दी ढंगले सवारी चलाउने, तीव्र गतिमा हुइँक्याउने र सडक लेन मिच्नेलाई मुख्य गरी कारबाही गरिएको उनले जानकारी दिए।
पहिले तीव्र गतिमा सवारी चलाउनेलाई जरिवानासँगै एक घन्टाको सचेतना कक्षा लिनुपर्ने व्यवस्था थियो। अहिले ट्राफिक कार्यालय भवन जलेकाले सचेतना कक्षा सुरू गरिएको छैन। जरिवाना भने तिराइन्छ।
जरिवाना तिर्न पनि इ–चलानी (अनलाइन सेवा) अवरूद्ध रहेको उनले बताए।
'यातायात कार्यालय जलेपछि त्यो सेवा अवरूद्ध छ,' उनले भने, 'यस्ता विभिन्न कठिनाइ हुँदाहुँदै पनि हामी बिस्तारै नियमित परीक्षणमा फर्किइरहेका छौं।'
***