एपिएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमान सिंह १० किलोमिटर रोड रेस प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
वीर गणेशमान सिंह फाउन्डेसनको स्पोर्ट्स कमिटिले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११.४ सकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले नयाँ कोर्स रेकर्डसहित उपाधि जिते। गोपीले आफ्नै नाममा रहेको ३१ मिनेट ४४.४९ सेकेन्डको कोर्स रेकर्ड सुधार गरेका हुन्।
त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए।
महिलतर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्डसहित उपाथि जितिन्। उनले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तिमान तोडेकी हुन्।
एपिएफकी पुष्पा भण्डारी ३८ मिनेट ०४.३ सेकेन्डमा दोश्रो तथा एपिएफकै विन्द्रा धन्के श्रेष्ठ ४० मिनेट २८.९५ सेकेन्डमा तेश्रो स्थानमा रहे।
विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे। नयाँ कीर्तिमान बनाएका गोपी र राजपुरालाई थप १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो।
पाँच किलोमिटरतर्फ पुरुषमा आर्मीका मुकेशबहादुर पाल र महिलामा एपिएफकी फुलमती रानाले पहिलो स्थान हासिल गरे। मुकेशले १४ मिनेट ३३.८८ सेकेन्डमा निर्धारित दूरी तय गरे। दोश्रो भएका एपिएफका सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.८६ सेकेन्ड तथा तेश्रो स्थानका आर्मीका सुवाष कार्कीले १५ मिनेट १४.०२ सेकेन्डमा दौड सिध्याए।
फुलमतीले १७ मिनेट ४२.३१ सेकेन्ड खर्चिन्। आर्मीकी निर्मला केसी १८ मिनेट १५.३४ सेकेन्डमा दोश्रो तथा आमीकै पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३.९४ सेकेन्डमा तेश्रो बने। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गरे।
पाँच किलोमिटरतर्फको रेस पहिलो पटक आयोजना गरिएको हो भने १० किलोमिटरतर्फ यो तेस्रो संस्करण हो। विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाको नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।