नेपाल आर्मीका नवीन श्रेष्ठ र रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नवीनले एपीएफका दीपेश धामीलाई २१–१९, १२–२१ र २१–१९ को सेटमा पराजित गरे। प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई १९–२१, २१–१७ र २१–१६ को सेटमा हराए।
हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला सिंगल्समा आर्मीकी अनुमाया राईले आर्मीकै प्रार्थना देउवालाई १६–२१, २१–१८ र २१–१५ तथा आर्मीकी रशिला महर्जनले एपीएफकी जेशिका गुरुङलाई २१–१४ र २१–११ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे।
यु–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसीले स्पोर्ट्स हबका सुनिल कार्कीलाई २१–१३ र २३–२१ तथा एनआरएनका साहिल चन्दले उदयपुरका रुमुहाङ राईलाई २१–१५ र २१–१९ को सोझो सेटमा हराउदै फाइनल भिडन्त पक्का गरे।
पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले एपीएफका दीपेश धामी र विजित थापा मगरको जोडीलाई २२–२०, २३–२५ र २१–१४ तथा आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीले कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीलाई २१–१५, २१–२३ र २१–१७ को सेटमा पन्छ्याउदै फाइनल यात्रा तय गरे। प्रतियोगितामा समावेश सम्पूर्ण ७ स्पर्धाको फाइनल बिहीबार हुने छ।