आठ स्वर्ण पदक सहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ। पुलिसले ४ कास्य पदक पनि जित्यो। टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब दोस्रो हुँदा ३ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ एपिएफ तेश्रो भएको छ।
१ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ बागमती चौथो, १ स्वर्ण, १ रजत र ५ कास्य पदकका साथ प्रदेश १ पाँचौं बने। त्यस्तै १ रजत र ४ कास्यका साथ लुम्बिनी छैटौं, १ रजत र ३ कास्य पदक जित्दै सुदूरपश्चिम सातौं तथा १ रजत र २ कास्य पदकका साथ मधेश प्रदेश आठौं स्थानमा रहे। गण्डकी र कर्णाली पदकविहीर रहे।
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता समेत रहेकी कुसुम खड्का र प्रदेश १ का रोजन खड्का प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए। कुसुमले ४५ केजी महिला कुमुते र रोजनले ८४ केजीमूनिको तौल समूहमा स्वर्ण पदक जितेका थिए। कर्णालीकी एसिला रासकोटी मगरले एकल काता, टिम र कुमुते तीनै इभेन्टमा भाग लिएकी थिइन्।
अन्तिम दिन ४ इभेन्ट्को प्रतिस्पर्धा भएको थियो। पुरुष ५० केजी तौलसमूहमा साजन मोक्तान च्याम्पियन बनेका छन्। उनले फाइनलमा एपिएफका वीरबहादुर तामाङलाई ८–० ले नकआउट गर्दै स्वर्ण पदक जिते। त्यस्तै नविन रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै स्वर्ण पदक जिते।
त्यस्तै महिला ६१ केजी तौल समूहमा एपिएफकी इस्तर राईलाई १३–३ ले नकआउट गर्दै त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठ स्वर्ण पदक जित्न सफल भइन्। एपिएफका विजय श्रेष्ठले पुरुष ४४ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरे। विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजित प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको थियो। महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो। प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ। लिनिङ र सान सोजुसह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरीनगरपालिका, क्लासिक डायमण्ड र बागमती गाउँपालिका सहयोगी का रुपमा रहेका थिए।