नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र एपीएफकी सिक्का सुवाल श्रेष्ठले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स उपाधि शनिबार जितेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन श्यान्टुले आफ्नै विभागका विनेश खनियाँलाई ७–११, ११–९, ११–९, ११–६, ७–११ र ११–९ को सेटमा पराजित गरे। एक हप्ताको अवधिमा श्यान्टुको यो दोश्रो उपाधि हो। यसअघि उनले चैत १९ गते चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटनिस प्रतियोगितामा भारतीय खेलाडीलाई हराउदै सिंगल्स उपाधि जितेका थिए। नेपाल आर्मी दीप साउन र एपीएफका संयोग कपाली तेश्रो भए।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा सिक्काले आर्मीकी स्वेच्छा नेम्वाङलाई ११–४, ११–४, ११–२ र ११–७ को सोझो सेटमा सहजै हराइन्। सिक्काको यो पहिलो सिनियर सिंगल्स उपाधि हो। आर्मीकी रविना महर्जन तथा प्रहरीकी सोनु थापा मगर तेश्रो भए। दुवै समूहको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार प्राप्त गरे।
व्ह्वीलचेयरको सिंगल्सतर्फ पुरुषमा अर्पण सुनुवार राईले प्रदीप भण्डारीलाई ८–११, ११–५ र ११–६ तथा महिलामा लाली शेर्पाले रजनी राईलाई ११–५ र ११–३ ले फाइनलमा पाखा लगाउदै स्वर्ण हात पारे। स्टेन्डिङको महिला सिंगल्स फाइनलमा रायकोशा शाहीले मेणुका गौतमलाई ४–११, ११–७ र ११–४ को सेटमा पन्छ्याउदै शीर्ष स्थान हात पारिन्।
मिडियाको पुरुष सिंगल्समा हिमालय टेलिभिजनका सुमन प्रधान पहिलो, कान्तिपुर दैनिकका राजु घिसिङ दोश्रो तथा खेलपाटीका निशान राई र राजधानी दैनिकका दिलबहादुर तामाङ तेश्रो भए।
स्कुलतर्फ आदर्श विद्या मन्दिर (एभीएम) टिम च्याम्पियन बन्यो। एभीएमले ४ स्वर्ण, ६ रजत र ५ कांस्य हात पार्यो।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, केबी सामका अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमितकुमार बेगानी, आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। चैत २१ गतेदेखि सुरु प्रतियोगितामा ३ सय ५० खेलाडीले विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।